काठमाडौं, ४ मंसिर । इजरायलस्थित नेपाली राजदूतावासले नेपाली विद्यार्थी विपिन जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको जनाएको छ ।
राजदूतावासले इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच युद्व सुरू भएयता बेपत्ता रहेका जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको जनाएको हो ।
‘७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलको किब्बुज-अलुमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरुमध्येमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन् ।’
दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
दूतावासले विपिन हालसम्म पनि सम्पर्कविहीन रहेकाले पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको बताउँदै खोजी कार्य जारी रहेको जानकारी समेत दिएको छ ।
गत शनिबार विपिनका बुबाआमाले परराष्ट्र मन्त्री एनपी साउदसँग भेटेर छोराको रिहाइको लागि पहल गरिदिन आग्रह गरेका थिए ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का विपिन सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए ।
सुदूरपश्चिम विश्वविद्यालयबाट उनी सहित ४९ विद्यार्थी त्यहाँ गएका थिए । गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो ।