९ कार्तिक २०८३, सोमबार

दिनभरका TOP 15 NEWS: गणतन्त्रलाई चलाउने काम नगर्नु, चिसोले थप तीनजना भूकम्पपीडितको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रलाई चलाउने र औँलो ठड्याउने काम कतैबाट नगर्न चेतावनी दिएका छन् ।

पार्टीको जनसंगठन संयन्त्रले शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको विशेष भेलामा बोल्दै अध्यक्ष ओलीले यातना सहेर, अङ्गभङ्ग भएर, जेलनेल सहेर, बेघरबार भएर, बेहालका अनेक स्थितिहरू झेलेर गणतन्त्र ल्याएकाले गणतन्त्रलाई चलाउने र औँलो ठड्याउने काम कतैबाट नगर्न चेतावनी दिएका हुन् ।

दुर्गा प्रसाईँको नेतृत्वमा यही मङ्सिर ७ गते काठमाडौंमा हुन गइरहेको प्रदर्शनप्रति संकेत गर्दै उनले लोकतान्त्रिक गणतन्त्रमाथि औंला ठड्याउनेहरूलाई एमालेले तह लगाउने समेत बताए ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

१. ओलीको चेतावनी : लोकतान्त्रिक गणतन्त्रलाई चलाउने र औँलो ठड्याउने काम कतैबाट नगर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चेतावनी, यातना सहेर, अङ्गभङ्ग भएर, जेलनेल सहेर, बेघरबार भएर, बेहालका अनेक स्थितिहरू झेलेर गणतन्त्र ल्याएकाले गणतन्त्रलाई चलाउने र औँलो ठड्याउने काम भए एमालेले तह लगाउने भनाइ ।

२. स्पष्टसँग कुरा राख्ने : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औँ सम्मेलनमा जलवायु परिवर्तनबाट नेपालमा परेको असरबारेमा स्पष्टसँग कुरा राख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ, सम्मेलनमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोगभन्दा पनि अधिकारका विषयलाई प्राथमिकताका साथ उठाइने धारणा ।

३. चिसोले धमाधम ज्यान गुमाउँदै पीडित : जाजरकोटमा चिसोको कारण मृत्यु हुनेको संख्या सात पुथ्यो, मृत्यु हुनेमा भूकम्पपीडित जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी ।

४. विपिनलाई फर्काउने प्रयास जारी : इजरायली द्वन्द्वमा विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिकाका विपीन जोशीलाई छुटाउन सरकार गम्भीरतापूर्वक लागेको परराष्ट्रमन्त्री एनपी साउदको भनाइ, जोशी बन्धक अवस्थामा जीवित रहेको र उनलाई मुक्त गराउन अमेरिकाका परराष्ट्रमन्त्रीदेखि कतारका विदेशमन्त्रीसित आग्रह गरेको जानकारी ।

५. प्रधानमन्त्रीलाई चेतावनी : जनताको मुख थुनेर सत्ता नटिक्ने नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को टिप्पणी, सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर सत्ता टिकिरहन्छ भन्ने नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी ।

६. बजेट खर्च : चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत बजेट खर्च गर्‍यो, कात्तिक मसान्तसम्ममा सरकारको बजेट खर्च तीन खर्ब ५५ अर्ब ६३ करोड ४० लाख बराबर रहेको तथ्यांक ।

७. आमा–छोरा मृत फेला : प्युठानमा ४ दिनदेखि हराइरहेका आमा(छोराको शव भेटियो, नौबहिनी गाउँपालिका–३ खवाङमा आमा २२ वर्षीया रीमा बुढामगर र ३ वर्षीय छोरा मुस्कान बुढामगर मृत फेला परेका प्रहरीद्वारा जानकारी ।

८. छानबिन समिति : चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानबिन गर्न वन तथा वातावरण मन्त्रालयद्वारा समिति गठन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जानकारी ।

९. स्थानीय रिहा : काठमाडौँको शंखरापुरमा सवस्टेशन निर्माणको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीचको झडपमा पक्राउ परेका १५ जना स्थानीय रिहा, छलफलपछि नगरपालिकाका जनप्रतिनिधिको रोहबरमा उनीहरूको रिहाइ गरिएको जानकारी ।

१०. सहमतिको सरकार आवश्यक : कोशी प्रदेशमा जस्तै सङ्घीय सरकारमा पनि सहमतिको सरकार आवश्यक रहेको काँग्रेस नेता शेखर कोइरालाको भनाइ, मुलुकको अवस्था र व्यवस्था सुधार्न सबै राजनैतिक दलहरू मिलेर अघि बढ्नुको विकल्प नभएको धारणा ।

११. स्वयम्सेवक पीडितको सेवामा : भूकम्प पीडितका लागि अस्थायी टहरा निर्माण गर्न एमालेका स्वयंसेवक परिचालन, स्वयंसेवक टोलीलाई अध्यक्ष केपी शर्मा ओलीले राहत सामाग्रीसहित गरे बिदाई ।

१२. छठको दोस्रो दिन : छठपर्वको दोस्रो दिन आज खरना विधि, खरानामा ब्रतालुले निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरबा चामलको खिर कुलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरूप खाने प्रचलन ।

१३. पहिलो चरणको राहत वितरण सम्पन्न : जाजरकोट भूकम्पबाट प्रभावित रुकुम पश्चिमका विभिन्न स्थानमा पहिलो चरणको राहत वितरण सकियो, भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई ७७ लाख नगद वितरण ।

१४. इजरायलको क्रुरता : गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा कम्तीमा एक सय प्यालेस्टिनीको मृत्यु, विद्यालयभित्रबाट शवहरु निरन्तर फेला परिरहेको र ठूलो सङ्ख्यामा घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने सम्भावना ।

१५. नेपालको शानदार जित : महिला टी–ट्वान्टी चारदेशीय क्रिकेट सिरिजमा नेपालले जापानमाथि निकाल्इो शानदार जित, जापान ६७ रनले पराजित ।