
काठमाडौं, २८ कात्तिक । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु, हली एवं कृषकको पूजा आजा गरी मनाइएको छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानेर पूजा आराधना गरिएको हो ।
द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो। कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ ।
गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा देवमणि भट्टराईले जानकारी दिए। भगवान् विष्णुको आज्ञा अनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मत्र्यलोकको शासन गर्ने अधिकार बलिराजाले पाएको पौराणिक मान्यता छ ।
दानमा कहलिएका राजा बलिले नै भलो होस् भनेर भैलो र ‘देउ शिर रे’ भनी देउसी खेल्ने परम्पराको सुरुवात् गरेको विश्वास छ । यसै आधारमा आज बलिको पनि पूजा आराधना गरिएको छ। प्राचीनकालदेखि नै गोरुले कृषिकर्मका लागि खेत, बारी जोतेर महत्वपूर्ण योगदान गर्दै आएको छ । महादेवको वाहनको रुपमा समेत पूजिने गोरुलाई आज पूजा गरी मीठा मीठा खानेकुरा दिए वर्षभर खुसी भएर कृषि कर्ममा सहयोग गर्ने विश्वास छ ।
यसैगरी गोरु जोत्ने हलिलाई पनि पनि आज घरमा बोलाएर टीका दक्षिणासहित मीठा कुरा खान दिइन्छ । यसैले आजको दिनलाई हल तिहार पनि भनिन्छ । वर्षभर कृषि कर्म गर्ने कृषकलाई पनि आज पूजा गरी मीठा मीठा खानेकुरा खान दिइएको छ ।















प्रतिक्रिया