
जाजरकोट, २५ कात्तिक । नेकपा (एमाले)ले भुकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा एक हजार स्वयंसेवक परिचालन गर्ने भएको छ ।
एमालेको केन्द्रीय निर्णय अनुसार देशभरबाट स्वयंसेवक जाजरकोट र रुकुम पश्चिम आउन लागेका हुन् । उक्त कामलाई सफल बनाउन एमाले जिल्ला कमिटी जाजरकोट र रुकुम पश्चिमको बैठक बसेको छ ।

बैठकले दुई निर्णय गरेको पहिलो निर्णय मंसिर १ गते देखि परिचालन हुने स्वयमसेवकलाई परिचालन गर्न वडा तह सम्म संयोजक सहित बढीमा ४ सदस्य समिति बनाउने निर्णय गरेको छ ।
कात्तिक १७ गते जाजरकोटको बारेकोट गाँउपालिका केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण कर्णालीमा ६५ हजार भन्दा बढी घरहरु क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । उक्त प्रारम्भिक अनुमानका आधारमा अस्थायी टहरामा बस्ने वातावरण बनाउन टहरा निर्माण गर्नुपर्ने देखिन्छ ।
त्यस्तै दोस्रो निर्णय मंसिर १४ गते देखि सुरू हुने ‘झुलाघाट-चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’ सफल बनाउने तयारीमा जुट्न जिल्लाका पार्टी कमिटीलाई परिचालन गर्ने निर्णय गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली आउने उक्त कार्यक्रमलाई सफल बनाउन काममा लाग्न एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले निर्देशन दिएका छन् ।
बैठकमा एमाले स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश सभाका विपक्षी दलका नेता यामलाल कँडेलको प्रमुख आतिथ्यता र पोलिटब्युरो सदस्य भैरवसुन्दर श्रेष्ठ, लक्ष्मी पोखरेल, कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाह, उपाध्यक्ष टेकराज पछाई, सचिव ध्रुवकुमार शाही र उपसचिव रमेशकुमार शाही लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।












प्रतिक्रिया