
काभ्रे, २५ कात्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनका कारण मुलुकको अर्थतन्त्र तस्करहरूको हातमा पुगेको बताएका छन् ।
धुलिखेल नगर कमिटीले शुक्रबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा महासचिव पोखरेलले अवैधानिक क्षेत्रमा लगानी भइरहेकाले मुलुकमा आर्थिक तरलता बढिरहेको बताए ।
एमाले सरकारमा रहेको समयमा नेपालको अर्थतन्त्र सुदृढ रहेको र अर्थतन्त्रका सबै सूचकाङ्क सकारात्मक रहेको स्मरण गर्दै उनले भने– अहिले मुलुक तस्करहरूको हातमा पुगेको छ र नेपाल दक्षिण एसियामै गरिब मुलुकका रूपमा चिनिएको छ ।
अहिलेको अराजकता, असफलता र जनतामा निराशा सिर्जना गर्न गठबन्धन सरकार जिम्मेवार रहेको उनको भनाइ छ । महासचिव शंकर पोखरेलले अहिलेको अराजकता र मुलुकको सङ्कट टार्ने क्षमता एमाले बाहेक अरुसँग नभएको बताए ।
‘एमाले जनमतका हिसावले देशको ‘पपुलर’ पार्टी हो तर सरकारमा छैन,’ वर्तमान यथार्थ प्रस्तुत गर्दै महासचिव पोखरेलले भने– मुलुक निर्माणका लागि बलियो शक्ति निर्माण गर्नुको विकल्प छैन । राज्य सफल हुन सकेन भने जनताको समृद्धि असम्भव छ ।’
कोही सामाजिक सञ्जालमा पपुलिष्ट हुँदैमा मुलुकको विकास सम्भव नभएको उनको भनाइ छ । महासचिव पोखरेलले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका समयमा सामाजिक सञ्जाल प्रयोगको व्यवस्थापनका लागि कानुन ल्याउन लाग्दा विरोध गरिएको स्मरण गर्दै आज गठबन्धन सरकारले त्यही कानुन ल्याउनुपर्ने महसुस भएको छ भने ।
एमाले मुलुकको समग्र विकासका लागि नविनतम योजना तथा सोच र राष्ट्रियताका सवालमा एक कदम अघि रहेको उनको भनाइ छ ।

हिरोईजमले मात्रै मुलुक चल्दैनः बास्कोटा
शुभकामना आदान प्रदान कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटाले नयाँ नयाँ हिरोईजमले मात्रै मुलुक नचल्ने बताए ।
प्रतिनिधि सभा सदस्य बास्कोटाले साधारण मान्छेका लागि लोकतन्त्र भएकाले दल खोलेर चुनाव लड्ने बाहेक चिहानमा पुगेको संस्था र व्यक्तिबाट मुलुकको नेतृत्व असम्भव रहेको बताए ।
गठबन्धन सरकारले नागरिकका समस्यामा ध्यान नदिएको बताउँदै बर्तमान गठबन्धन सरकार रहँदासम्म मुलुक ओरालो लाग्ने उनको भनाइ छ । सामाजिक सञ्जाल व्यवस्थापनका लागि सरकारले ल्याउन लागेको कानुनका सन्दर्भमा पूर्व सञ्चारमन्त्री समेत रहेका बास्कोटाले हिजो विरोध गर्नेहरूलाई नै आज कानुन आवश्यक भएको भन्दै व्यङ्ग गरे। कोही उफ्रँदैमा लोकतन्त्र खतरामा नपर्ने उनको भनाइ छ ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं जिल्ला इन्जार्च कृष्ण राई, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, नगर अध्यक्ष दयाराम महत लगायत नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।












प्रतिक्रिया