१ कार्तिक २०८३, आइतबार

भक्तपुरका कुमालेलाई माटोका पाला र भाँडा बनाउन भ्याइनभ्याइ

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २५ कात्तिक । तिहार लागेसँगै भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । भक्तपुर नगरपालिका–४ तालाक्वो पोर्टरीस्क्वायरमा पुस्तौदेखि माटोका भाँडा बनाउँदै आएका कुमाले समुदाय तिहार सुरु नहुँदैदेखि माटोका भाँडा बनाउन व्यस्त छ ।

भक्तपुरमा आकर्षक माटोको भाँडा बनाउने बोलाछें र तालाक्वको पोर्टरी स्क्वायरमा प्रजापति समुदायका पूरै परिवार यतिखेर तिहारका लागि आवश्यक पाला बनाउन एकछिन फुर्सद छैन ।

शिवप्रसाद प्रजापतिले आफूहरुले यसवर्ष करिब २० लाख पाला बनाएर बिक्री गर्ने योजना बनाएको बताए । उनले भने, “करिब ६० घरपरिवार माटोको भाँडा, पाला बनाउन व्यस्त छन्, बजारमा भारतीय पाला छिरिरहेको छ, सरकारले यसलाई रोक्न सके यसवर्ष हामीले २० लाख पाला बनाएर काठमाडौँ उपत्यकादेखि पोखरासम्म बिक्री गर्ने योजना बनाएका छौँ ।”

उनले भक्तपुरका पाला देशका विभिन्न ठाउँमा पुग्ने गरे पनि अहिले तराईदेखि पहाडसम्म स्थानीयस्तरमै पाला निर्माण गरेपछि यहाँका पाला उपत्यका र काभ्रेमा मात्रै खपत हुने बताउँछन् । यसवर्ष एक दर्जन पाला रु ४० मा खुद्रा बिक्री गरेको र थोकमा प्रतिगोटा रु दुई मा बिक्री भइरहेको उनले बताए । केही वर्ष अगाडिसम्म भक्तपुरमै माटो पाइने भए पनि असहले साँखुबाट महँगोमा माटो ल्याउनुपर्दा प्रजापति समुदायलाई समस्या परेको भन्दै उनले स्थानीय सरकारले माटो ल्याउन सहजीकरण गरिदिनुपर्ने बताउँछन् ।

“तिहार आइसक्यो माटोको पाला, भिउँट, धुपौरोको थुप्रै अर्डर आएको छ”, तालाक्व पोर्टरी स्क्वायरका ३८ वर्षीय विनोदकुमार प्रजापतिले भने, “माटोको समस्याले अर्डरअनुसारको काम गर्न पाइएको छैन ।” उनका अनुसार वर्षभरिमा राम्रो आम्दानी गर्ने समय नै यही हो । त्यसैले यो मौकालाई गुम्न नदिन यहाँका सिङ्गो समुदायका स–परिवार बिहानैदेखि रात नपरेसम्म माटोकै काममा व्यस्त हुने गरेको उनको भनाइ छ । भाँडा बनाउने परम्परागत मेसिन लोप भएपछि आधुनिक र सजिलो विद्युतीय मेसिनबाट माटोको भाँडा बनाउन व्यस्त उनले यस वर्ष १५ हजार पाला बिक्री गरिसकेका छन् । पूजामा प्रयोग हुने धुपौरो, घैँटो बनाउन व्यस्त उहाँले यस वर्ष साना र ठूला दुवै प्रकारको पालाको माग रहेको बताए ।

पोटरी स्क्वायरकै दयाराम प्रजापतिको पनि हात एकछिन पनि खाली छैन । बाजे बराजुको पालादेखि माटोको भाँडा बनाउँदै आएका उनको परिवारमा यो जिम्मेवारी अहिले दयारामले सम्हाल्दै आएका छन् । उनी भन्छन्, “यस वर्ष पालाको माग धेरै छ, तिहार आइसक्यो, मागअनुसारको पाला उत्पादन गर्न भ्याएकै छैन ।”

यहाँ उत्पादन भएका पाला यतिखेर भक्तपुर, काठमाडौं, ललितपुर, काभेपलाञ्चोक, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ, वीरगञ्जलगायतका स्थानमा बिक्री हुने गरेको छ ।  पाला बनाउन व्यस्त विनोद प्रजापतिले माटो र काठको अभाव भएको भन्दैसरकारले इलेक्ट्रिक चुलोको व्यवस्था गरिदिए सहज हुने बताए । भक्तपुरमा माटो पाउन छाडेको करिब एक दशक भइसक्यो । साँखुबाट व्यापारीले माटो ल्याउने गरे पनि त्यो पनि मागअनुसार आउँदैन, माटोको अभावले पेसा नै सङ्कटमा पर्ने अवस्था आएको उनीहरु गुनासो गर्छन् ।

स्थानीय विकास प्रजापतिले साँखुबाट व्यापारीले एक मिनीट्रक माटोको रु १३ हजारदेखि १५ हजारसम्म लिने गरेको बताउँछन् ।  माटो र दाउराको अभावले समस्या आएको उनको भनाइ छ ।

विगतमा भक्तपुरका कुमाले बाहिर जिल्लामै गएर माटोको भाँडा बनाउने गर्दथे भने कतिपय विभिन्न जिल्लामा बसाई सरेर गएका कुमालेले सोही ठाउँमै माटोको भाँडा बनाउने गरेपछि माग घटेको स्थानीय बलराम प्रजापति बताउँछन् । पुर्खादेखि गर्दै आएको काम छाड्न नसकिएको बताउँदै यहाँले माटोको भाँडाबाट घरखर्च चल्ने गरेको बताउँछन् ।