२७ कार्तिक २०८३, शुक्रबार

भूकम्पपीडितलाई तनहुँका दुई स्थानीय तहको १० लाख सहयोग

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, २४ कात्तिक । जाजरकोट भूकम्पपीडितका लागि तनहुँका दुई स्थानीय तहले आर्थिक सहयोग गरेका छन् । जिल्लाको व्यास नगरपालिका र देवघाट गाउँपालिकाले भूकम्पपीडितको उद्धार र राहतका लागि रु १० लाख सहयोग गरेका हुन् । दुवै पालिकाले रु पाँच–पाँच लाख सहयोग गरेका छन् ।

व्यास नगरपालिकाको बैठकले विपद् व्यवस्थापन कोषबाट रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । उनले भने, “विपद्को अवस्थामा देशैभरबाट सहयोग भइरहेको अवस्थामा हामीले पनि केही सहयोग गर्ने निर्णय गरेका हौँ ।”

नगरपालिकाले भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । भूकम्पबाट व्यास नगरपालिकाभित्र पनि केही घरहरु भत्किन गएको सूचना प्राप्त भएकाले सबै नगरवासी दाजुभाइलाई सुरक्षित रहन, कुनै विपद्जन्य अवस्था आइपरेमा नगरपालिकालाई सूचित गर्न आग्रह गरिएको छ ।

जाजरकोट भूकम्पपीडितका लागि तनहुँकै देवघाट गाउँपालिकाले पनि रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ । यस्तै नेपाली कांग्रेस तनहुँका तर्फबाट रु २५ हजार सहयोगको निर्णय भएको छ ।

देवघाट गाउँपालिकाका प्रमुख तिलबहादुर थापाले भूकम्पपीडितका लागि सर्वसाधारणबाट पनि राहत संकलन भइरहेको जानकारी दिए ।

गाउँपालिकाले भूकम्पपीडितका लागि थप सहयोग गर्न वडा नं २ का अध्यक्ष मीनबहादुर रानाको संयोजकत्वमा राहत संकलन समितिसमेत गठन गरेको छ । गाउँपालिकाका अध्यक्ष थापाले भने, “सहयोग गर्न इच्छुकलाई सहयोगका लागि आह्वान गरेका छौँ । सबै वडाबाट स्वतःस्फूर्तरूपमा सहयोग संकलन गरिनेछ ।”