आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

उपभोक्ताले मनाए चिनीबिनाकै दशैँ

दैनिक नेपाल २०८० कार्तिक १२ गते ६:४४

काठमाडौं, १२ कात्तिक । असोज अन्त्यतिर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ लाख ८० हजार क्विन्टलभन्दा बढी चिनी बजारमा बेच्न चिनी उद्योगीसँग सहमति गरे पनि चिनीबिना नै उपभोक्ताले दशैँ मनाएका छन् ।

बजारमा अभाव र कालोबजारी हुन सक्ने सामानलाई प्रतिस्पर्धात्मक बनाउनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेट र साल्ट ट्रेडिङ कर्पोरेसन हुँदाहुँदै व्यापारीलाई नै चिनी बेच्नुपर्छ भनी विभागले सहमति गरेसँगै झनै कालोबजारी मौलाएको हो ।

विभागले कार्तिक २ गते बुधबारबाट १ सय १५ रुपियाँमा खुद्रा पसलेले चिनीको आपूर्ति सहज बनाएको दाबी गरे पनि उपत्यकाका अधिकांश पसलमा चिनीको छैन । विभागका महानिर्देशक तीर्थराज चिलुवालले विभागकै सहमतिमा एभरेस्ट र हिमालयन सुगर मिलमा रहेको १ हजार मेट्रिक टन चिनी बजारमा बेच्न पढाइएको बताए । उनले केही दिन अगाडि ११ ओटन चिची मिलको स्टक निरीक्षण गर्ने क्रममा अन्यमा मौज्दात नरहेको बताए ।

अहिले भएको चिनी कोक र पेप्सीका लागि बेच्न राखेको चिनी बजारमा पठाएको उनले बताए । ५० हजार मेट्रिक टन भारतबाट मगाएको नआएपछि चिनीको अभाव भएको विभागले जनाएको छ । चाडवाडको समयमा गुलियो परिकार पकाएर खाने नेपालीका लागि यसपालिको दशैँमा भने मासुभातमा मात्र सीमित हुनुपरेको छ । अन्य बेलाको तुलनामा चाडवाडका बेला चिनीको माग ह्वात्तै बढ्ने गर्छ । यस्तो बेलामा चिनीको मागलाई सरकारले नै ख्याल नगर्दा उपभोक्ताले दुःख पाएका छन् ।

यस्तै खुद्रा व्यापार संघका कोषाध्यक्ष वसन्त श्रेष्ठले कार्तिक १ गते मंगलबारसम्म नपाइएको चिनी बुधबारबाट केही होलसेलरहरुले बेचेको बताए । उनले यसो भनी रहँदा चिनी आवश्यक पर्नेहरुले पनि मिश्रीबाट काम चलाइरहेको पाइएको छ । काठमाडौं भीमसेनगोला बस्ने चिरकाजी महर्जनले आफूले अधिकांश पसलमा चिनी खोजे पनि नपाइएपछि मिश्रीले काम चलाएको बताए । साल्ट ट्रेडिङका अनुसार अहिले कम्पनीले किलोको ९७ रुपियाँमा चिनी बिक्री गरिरहेको छ ।

यद्यपि उसले पनि मागअनुसार चिनी आपूर्ति गर्न सकेको छैन । साल्ट ट्रेडिङ लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, दुग्ध विकास संस्थानलगायतले काठमाडौं उपत्यकाभित्र तीनवटा घुम्तीसहित ३५ वटा सुपथ मूल्य पसलहरू सञ्चालनमा ल्याएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

त्यसबाहेक देशका विभिन्न भागमा पनि यस्ता पसलहरू सञ्चालनमा ल्याइएका छन् । केही अघि बजार अनुगमनका क्रममा सरकारले जफत गरेको ७ सय क्विन्टल चिनी साल्ट ट्रेडिङलाई बिक्रीका लागि दिएको थियो । त्यसैलाई अहिले कम्पनीले बिक्री गरिरहेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया
सम्बन्धित