२८ आश्विन २०८३, बुधबार

अमेरिकामा नेपालीहरुले यसरी मनाए दसैँ – तास, कौडा र लंगुरबुर्जा समेत खेले (तस्वीरहरु)

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डिसी महानगर क्षेत्र, ८ कात्तिक । अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गर्ने नेपालीहरुले मान्यजनहरुबाट टीका ग्रहण तथा आशीर्वाद लिई बडादसैँ मनाएका छन् । अझै पनि मनाउने क्रम जारी रहेको छ । किनभने अमेरिकामा १ घण्टा, २ घण्टा र ३ घण्टाको सम्मको समय फरक हुनाले टीका ग्रहण जारी रहेको छ ।

नेपालमा ११ बजेर ०२ मिनेटको शुभ साइत भएकाले अमेरिकामा त्यहि शुभ साइतमा अधिकांशले टीका लगाएका छन् । तर अमेरिकामा केही नेपाली समुदायले गत सोमबार अर्थात् तिथी अनुसार टिका लगाए । यस विषयमा सामाजिक सञ्जालमा कहिले लगाउने भन्ने विषयमा बहस समेत भएको थियो । आ-आफ्ना तर्क वितर्क पेश गरेका थिए । गत अक्टोबर २३ सोमबारकै दिन टीका लगाएका तस्वीरहरु सामाजिक सञ्जालमा राखेका थिए ।

अमेरिकामा टीकाको चहल पहल ११:०२ बजे देखि सुरु भइ मान्यजनका घरमा गई आशीर्वाद लिएका थिए । यस वर्षको दसैँ मंगलबार परेकोले छुट्टी बिदा नहुनेले साँझपख कामबाट आएर पनि दसैँ मनाएका छन् ।

वर्ष दिनमा आउने नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैँ आएकोले कामको दिन परेता पनि नेपाली समुदाय निकै खुशी हुनुको साथै आफ्नो संस्कृति ,परम्परा तथा चाडपर्व मनाउन निकै हर्षित देखिन्थे । अमेरिकामा नेपाली संघ/संस्था तथा नेपाली मन्दिरहरुले समुदायको लागि जमराको व्यवस्था गरी दिए पछि नेपाली समुदायलाई सजिलो बनाइदिएको छ ।  साथै अधिकांश नेपालीहरुले आफ्नै घरमा जमरा पनि राख्न सुरु गरेका छन् ।

बडादसैँको दिन मासुका विभिन्न परिकारमा पक्कु, भुटेको भुडी, कलेजो, रक्ती ,भित्र्यास, काक्राको खल्पी अचार, कालो मासको दाल, तामाबोडी, सेलरोटी, केराको बुङ्गोको अचार, नेपाली शैलीका अचार तथा चिउरा आदि ईत्यादी समेत आफू, परिवार तथा अतिथिहरुलाई खुवाएका छन् ।

पुरुषहरु नेपाली पोशाक दौरासुरुवाल र ढाका टोपीमा देखिन्थे भने महिलाहरु पनि नेपाली शैलीका अधिकांश रातो सारी (फरिया) तथा सुनका गहनासहित सजिएका थिए ।

अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका बालबालिकाहरुले टीका जमरा र सौगत स्वरुप खाम भित्र पैसा प्राप्त गर्दा प्रफुल्ल भइ रमाएका थिए । अमेरिकाका विभिन्न राज्य तथा शहरहरुमा मनोरञ्जनको लागि तास, कौडा र लंगुरबुर्जा समेत खेलेका थिए ।