सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि प्रसूति सेवा ठप्प

दैनिक नेपाल २०८० कार्तिक १ गते ७:१०

खोटाङ, १ कात्तिक । जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गर्ने क्रममा बेहोस गराउने एकमात्र स्वास्थ्यकर्मी (एनेस्थेसिया सहायक) रुद्र ढुङ्गाना आफैँ बिरामी भएपछि उक्त सेवा ठप्प भएको हो ।

ढुङ्गाना उपचारका लागि काठमाडौं गएका छन् । उनी उपचारका लागि गएपछि अस्पतालले प्रसूति सेवा बन्द भएको बारे सूचना जारी गरेको छ । गत असोज ३० गते जारी गरिएको सूचनामा भनिएको छ, “अर्को व्यवस्था नभएसम्मका लागि जिल्ला अस्पतालमा सुत्केरी र शल्यक्रिया सेवा बन्द भएको छ ।”

जिल्ला अस्पतालका निमित्त प्रमुख डा. चतुरानन्द यादवले कार्यरत एकमात्र स्वास्थ्यकर्मी बिरामी भएर उपचार गराउन गएपछि सेवा बन्द गर्न बाध्य भएको जानकारी दिए । “एनेस्थेसिया सहायक दशैँपछि मात्र फर्किनुहुन्छ, त्यतिबेलासम्म सेवा उपलब्ध गराउन सकिँदैन”, उनले भने । ढुङ्गानाको ठाउँमा अर्को कर्मचारीको व्यवस्था गर्न तत्काल सम्भव नभएको उनको भनाइ छ ।

जिल्लामा वैकल्पिक व्यवस्था नहुँदा सुत्केरीलाई चर्को शुल्क तिरेर हेलिकप्टर चार्टर गरी उपचारका लागि अन्यत्र लैजानुपर्ने बाध्यता छ । विसं २०४९ मा स्थापना भएको जिल्ला अस्पतालमा हालसम्म एनेस्थेसिया सहायकको दरबन्दी छैन । अस्पताललाई ‘निकसाइमन’ नामक संस्थाले एकजना एनेस्थेसिया सहायक उपलब्ध गराएको हो । ती स्वास्थ्यकर्मी आफै बिरामी भएको अवस्थामा पटक पटक प्रसूति सेवा बन्द गर्ने गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित