२८ आश्विन २०८३, बुधबार

एमालेको प्रदेश अधिवेशन : प्रतिस्पर्धाबाट बाहिरिएकाहरूलाई पनि जिम्मेवारी दिइने

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एउटा विशेष प्रदेशसहित आठवटै प्रदेशमा निर्वाचित नयाँ नेतृत्वहरूले अधिवेशनमा नेतृत्व चयनका सन्दर्भमा भएका प्रतिस्पर्धालाई बिर्सेर एकता र सहमति निर्माणमा आफूलाई केन्द्रित गर्न निर्देशन दिएका छन् ।

सबै प्रदेशका नवनिर्वाचित नेतृत्वहरूलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै उनले प्रतिस्पर्धाका कारण बाहिरिएका नेताहरूलाई समेत कामको जिम्मेवारीको योजना बनाएर कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन् ।

‘सात प्रदेश र एक विशेष प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न भएको छ । पाँच प्रदेशमा चुनावबाट र तीन प्रदेशमा सहमतिका आधारमा नेतृत्व चयन भएको छ । अधिकांश जिल्लामा प्रदेश सदस्यका लागि सहमति भएको छ,’ पोखरेलले आज सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रदेश अधिवेशनबाट निर्वाचित नेतृत्वलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना । अधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने आयोजक कमिटीलाई धन्यवाद ।’

निर्वाचित कमिटीले मापदण्डका आधारमा सचिवालय गठन र कार्यविभाजनको काम गर्न, विधानको व्यवस्था अनुसार आवश्यकता अनुसार मनोनयन गर्दै अघि बढ्न र मिसन ग्रासरुटले औँल्याएका समस्या र सुझावका आधारमा वार्षिक कार्ययोजना तयार गर्न सुझाव पनि दिएका छन् ।

पार्टी सदस्यको योजनावद्ध परिचालन, सदस्यता विस्तार, प्रशिक्षण, कमिटी परिचालन र सुदृढीकरण, कार्यालय व्यवस्थापन, युवा नेतृत्वको विकास जस्ता विषयमा जोड दिँदै जनसरोकारका विषय र सामाजिक मुद्दाहरुमा आन्दोलन र अभियान सञचालन गर्नुपर्ने सुझाव उनको छ ।

यस्तै, उनले वर्तमान सरकार जनविरोधी रहेको उल्लेख गर्दै भण्डाफोर गर्नुपर्ने पनि बताएका छन् । ‘वर्तमान गठनवन्धन सरकारका जनविरोधी र राष्ट्र विरोधी क्रियाकलापको विरोध र भण्डाफोर गर्नु पर्दछ । नयाँका नाममा पपुलिजमका आधारमा यस्थास्थितिवादको सेवागर्ने गलत प्रवृत्तिका वारेमा जनतालाई सचेत र जागरुक बनाउनु पर्दछ,’ उनले भनेका छन् ।

समग्र पार्टी पंक्तिलाई मिसन ८४ का लागि परिचालित गर्नुपर्नेमा जोड दिँदै उनले हरेकका घरघरमा पुगेर पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नु किन आवश्यक छ भन्ने कुरा बताउनुपर्ने उल्लेख गरेका छन् । निरासालाई चिर्दै जनतामा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुने विश्वास जागृत गर्नुपर्नेमा उनको जोड छ ।