२८ आश्विन २०८३, बुधबार

एनआरएनए उपमहासचिवमा सन्तोष भट्टराईको उम्मेदवारी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को उपमहासचिवको लागि सन्तोषकुमार भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनए युरोप क्षेत्रीय संयोजक समेत रहेका भट्टराईले गैरआवासीय नेपालीहरुको हकहितका लागि लामो समयदेखि आफ्नो सामाजिक अभियान चलाउँदै आएका छन् भने विषम परिस्थितिमा पनि दुईवटा सफल यूरोप क्षेत्रीय सम्मेलन आयोजना गर्न सक्षम भएका थिए ।

जर्मनीलाई कर्मभूमि बनाएका भट्टराई सन् २००५ देखि एनआरएनएको अभियानमा आवद्ध छन् । आगामी कार्यकाल सन् २०२३/०२५ का लागि उपमहासचिवको उम्मेदवार बनेका भट्टराईले आफ्ना विभिन्न प्रतिवद्धताहरु पनि सार्वजनिक गरेका छन् ।

भट्टराईले एनआरएनए आइसीसी सदस्यहरूलाई प्रभावकारी रूपमा अभियानसँग जोड्ने, क्षेत्रीय परिषद्लाई संरचनागत रूपमा व्यवस्थित गर्ने, राष्ट्रिय समन्वय परिषद्हरूलाई अधिकतम अधिकार सम्पन्न गराउँदै केन्द्रप्रति उत्तरदायी बनाउने, सबै क्षेत्रहरूमा क्षेत्रीय कोषलाई फाउन्डेशन मार्फत व्यवस्थापन गर्ने, राष्ट्रिय समन्वय परिषद्हरूमा सदस्यता वितरण र निर्वाचन प्रक्रियालाई थप व्यवस्थित गर्ने, केन्द्रीय सचिवालयलाई क्षेत्रीय गतिविधिहरूमा अधिकतम प्रयोग गर्न विभाग बनाई काम गर्ने, मर्यादित तथा सुरक्षित वैदेशिक रोजगारीको सुनिश्चितताको लागी सामाजिक सुरक्षा, विमा र प्राविधिक शिक्षालाई प्राथमिकता दिने, सचिवालय बैठक देखि क्षेत्रीय सम्मेलनसम्मका गतिविधिहरूलाई थप व्यवस्थित गरी सबैको अधिकतम सहभागिताको सुनिश्चितता गर्ने, नेपाली भाषा, कला र संस्कृति, पर्यटन र नेपाली उत्पादनको प्रबर्धनलाई राष्ट्रिय समन्वय परिषद्हरूको स्थाई कार्यक्रमको रूपमा स्थापित गराउने लगायतका काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

भट्टराईले एनआरएनएको अभियानलाई व्यवस्थित बनाई संघलाई अघि बढाउनका लागि आवश्यक अनुभव समेत बटुलेको बताउँदै आगामी कार्यकाल सन् २०२३/२५ मा केन्द्रीय ज़िम्मेवारीमा रहेर काम गर्न सम्पूर्ण गैरआवासीय नेपालीहरुबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।