
काठमाडौं, २७ असोज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरूका लागि सरकार भन्दा जनता महत्त्वपूर्ण हुनुपर्ने बताएका छन् ।
एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को ४०औं स्थायी कमिटी तथा एसिया युरोप पोलिटिकल फोरमको पाँचौँ वार्षिक बैठकलाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले राजनीतिक दलहरूले कार्यकारी शक्तिको अभ्यास मात्र नभई दीर्घकालिन राष्ट्रिय हितको रक्षा गर्दै प्रभावकारी र गतिशील राष्ट्र निर्माण गर्ने दिशामा आफूलाई केन्द्रित गर्नुपर्ने बताएका हुन् ।
अध्यक्ष ओलीले राजनीतिक दलहरू तानाशाही व्यवस्था र शासकहरूबाट मुक्ति हासिल गरी आफ्नै शासन कायम गर्न जनताले खोलेका संस्था भएको पनि बताएका छन् । कुनै पनि सरकारबाट गरिने अन्याय एवम् पक्षपातले नागरिकको आँखामा सम्बन्धित राजनीतिक प्रणालीको वैधानिकतालाई मात्र नखुम्च्याउने र त्यसले आन्तरिक एवम् अन्तर्राष्ट्रिय स्तरमा समेत अस्थिरता, द्वन्द्व र अराजकता निम्त्याउने अध्यक्ष ओलीको भनाइ छ ।
उनले सबैका लागि न्याय, सम्मान र समानता कायम गरी सहअस्तित्व, सहिष्णुता, सद्भाव तथा सहयोगको भावना प्रवर्द्धन गर्न राजनीतिक दलहरूको भूमिका असाधारण हुने धारणा व्यक्त गरे ।
बैठकमा दुई महादेशका साझा भविष्यका निम्ति एसिया र युरोपका राजनीतिक दलका नेता तथा विज्ञबीच समसामयिक विषयमा छलफल हुने नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका एसिया युरोप पोलिटिकल फोरमका सहअध्यक्ष एवम् आइक्यापका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले जानकारी दिएका छन् ।
उनका अनुसार बैठकमा चीन, दक्षिण कोरिया, भियतनाम, इण्डोनेसिया, थाइल्याण्ड, पाकिस्तान, लेवनान, चेक गणतन्त्र, नेदरल्याण्डलगायत मुलुकका २६ राजनीतिक दलका नेता, मन्त्री तथा सांसद गरी ५० भन्दा बढीको सहभागिता छ ।













प्रतिक्रिया