
काठमाडौं, २७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेले कोशी प्रदेशमा भएको पछिल्लो समीकरण केन्द्रमा पनि बन्नुपर्ने बताएका छन् ।
नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा नेपाली कांग्रेसका विद्रोही उम्मेदवार केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि सभापति लामिछानेले कोशीको पछिल्लो समीकरणजस्तै अवस्था केन्द्रीय सरकारमा पनि सृजना गरिनुपर्ने बताएका हुन् । यद्यपि उनले गत उपनिर्वाचनमा आफू र आफ्नो पार्टीका उम्मेदवार डा. स्वणिम वाग्लेलाई हराउन भएको प्रयासबारे पनि स्मरण गरेका छन् ।
‘गत उपनिर्वाचनमा मलाई र डा. स्वर्णिमलाई हराउन ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको ‘महागठवन्धन’ले आज कोशीमा सार्थकता पाएछ । राम्रो भो, अब केन्द्रमा पनि यस्तै सहकार्य होस् ।’
यस्तै उनले पुराना दलहरूप्रति व्यङ्ग्यात्मक शैलीमा भनेका छन्, ‘आगामी निर्वाचन सम्ममा सबै पुराना दल एक ठाँउमा बसेर यस्तै महागठबन्धन गरी सकेसम्म चुनाव चिह्न समेत एउटै हुनेरी ‘महासहमति’ पनि गर्नु होला । ढिला नगरी ‘महागठबन्धनवादी मोर्चा’को घोषणा सभा बारे पनि सुन्न पाइयोस् । उदेश्य एउटै, कार्यशैली एउटै, चरित्र एउटै, गन्तव्य एउटै भएपछि सटरचाहिँ किन बेग्लाबेग्लै ?’













प्रतिक्रिया