२७ कार्तिक २०८३, शुक्रबार

नेपाली भूमिमा मोदीको भ्रमणप्रति झलनाथको आपत्ति, सरकारसँग मागे जवाफ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल सरकारको जानकारीबिनै नेपाली भूमिमा आएकोप्रति आपत्ति जनाएका छन् । उनले त्यसबारे गठबन्धन सरकारसँग जवाफ मागेका छन् ।

‘यहि असोज २५ गते बिहीबार हाम्रो मातृभूमि नेपालको सुदूरपश्चिम दार्चुला जिल्लाको व्यास गाउँपालिका १ कुटी गाउँको जोलिङकाङ हेलिव्याडमा भारतका वर्तमान प्रधानमन्त्री श्री नरेन्द्र मोदी र भारतकै उत्तराखण्ड राज्यका मुख्यमन्त्री श्री पुष्कर सिंह धामी सशस्त्र फौज र सुरक्षाका साथ उत्रिए । त्यतिमात्र होइन उनीहरुले कुटी गाउँ स्थित पार्वती कुण्डमा पुजा आजा समेत गरे। यो आफैमा एउटा अर्को आश्चर्यजनक घटनाका रुपमा देखा परेको छ । कुटी, नापी र कुञ्जी जस्ता स्थानहरू लगायत महाकाली नदीको एकमात्र शिर लिम्पियाधुरा सम्मको भूभाग ऐतिहासिक एकीकरण देखि नै नेपालका अभिन्न भू-भाग हुन् भन्ने कुरा इतिहाससिद्ध तथ्यसिद्ध र तर्कसिद्ध छ । तर भारतका शासकहरु ती नेपालका प्रिय भू-भाग माथि एक पछि अर्को अतिक्रमण गर्दै आइरहेका छन् र जबर्जस्त कब्जा गर्ने दुर्नियतले चलिरहेका छन । त्यसैको पछिल्लो कडी हो प्रधानमन्त्री नरेन्द्र मोदीको पूजा आजाको नाममा गरिएको ठाडो अतिक्रमण ।’ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता समेत रहेका खनालले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् ।

उनले के भारतीय प्रधानमन्त्रीको कुटी भ्रमण नेपाल सरकारलाई थाहा थियो ? के नेपाल सरकारसँग स्वीकृति लिएर त्यत्रो सशस्त्र शक्तिका साथ भारतीय प्रधानमन्त्री आएका हुन् ।  त्यस्तो होइन भने नेपालले राष्ट्रिय सहमतिका साथ चुच्चे नक्सा पास गरेको होइन ? यो नक्सा बमोजिमको नेपाली भूमिको रक्षा गर्ने जिम्मा नेपाल सरकारको होइन आज गठबन्धन सरकार के हेरेर बसिरहेको छ भन्दै प्रश्न गरेका छन् ।

उनले हालै संसद भित्र आवाज उठ्दा समेत किन यस बारेमा कुनै दलले एक शब्द पनि नबोलेको भन्दै प्रश्न गरेका छन् । ‘सम्पूर्ण देशभक्त जन समुदायहरु ! नेपाली जनता र भारतीय जनता सदियौं देखिका मित्र जनता हौं । हाम्रा बीच गहिरो बहुआयामिक सम्बन्ध रहिआएको छ । तर भारतका वर्तमान शासकहरू नेपाली भूमिको सिमानामा बार-बार अतिक्रमण गर्दै आएका छन् । अहिले प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अप्रत्यासित कुटी क्षेत्रको भ्रमण नेपाली भूभागका विरुद्ध अर्को ठाडो अतिक्रमण हो । त्यसबाट नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको उल्लंघन भएको छ र यो अन्तर्राष्ट्रिय कानुन र मर्यादाको समेत विरुद्ध छ । समस्त देशभक्त नेपाली जनता यस्ता अतिक्रमण र हस्तक्षेपको कडा विरोध गर्दछौं र हाम्रो सिमानाको रक्षाको निम्ति अनन्त सम्म पनि संघर्ष गरिरहने सङ्कल्प गर्दछौ ।’ खनालले भनेका छन् ।

उनले भारतीय प्रधानमन्त्रीको भ्रमणको अर्थ के हो ? यसको वास्तविकता के हो ? नेपाल सरकार त्यस बारेमा जानकार छ कि छैन ? त्यस प्रकारका अतिक्रमणका विरुद्ध नेपाल सरकारको दृष्टिकोण के हो ? परराष्ट्र मन्त्रालय यस बारेमा के भन्छ ? यी सम्पूर्ण कुराको यथार्थ जनसमक्ष ल्याउन सरकारसँग माग गरेका छन् ।