२७ कार्तिक २०८३, शुक्रबार

कोशी प्रदेश : मुख्यमन्त्रीमा समर्थन गर्ने प्रदेश सदस्यको सनाखत हुँदै

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २७ असोज । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्न समर्थन गर्ने प्रदेश सदस्यहरुको सनाखत आज शनिबार हुँदैछ ।

मुख्यमन्त्रीका लागि कोशी माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा (एमाले)को समर्थनमा नेपाली कांग्रेस नेता शेखर कोइराला समूहका केदार कार्कीले दाबी पेश गरेका छन् ।

मुख्यमन्त्रीका लागि दुबैले ४७/४७ प्रदेश सदस्यको समर्थन पेश गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले आज बिहान ८ देखि दिउँसो २ बजेसम्म दुवै पक्षका प्रदेश सदस्यहरुलाई सनाखतका लागि बोलाएका हुन् । सनाखतका लागि दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका प्रदेश सभा सदस्यहरूलाई प्रदेश सभा सदस्यको परिचय खुल्ने परिचयपत्रका साथ प्रदेश प्रमुखको कार्यालयको सभाहलमा बोलाइएको छ ।

कुल ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ सदस्य चाहिन्छ । कोशीमा नेकपा (एमाले)का ४० (उपसभामुखसहित), नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का एक सदस्य छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि हस्ताक्षर गर्दा सांसदलाई ह्वीप नलाग्ने र स्वतन्त्र हैसियत रहने सर्वोच्चअदालतको व्याख्या छ । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम प्रदेश सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।