
काठमाडौं, २६ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको भोलि सनाखत गरिने भएको छ ।
मुख्यमन्त्रीको दाबी पेश गरेका नेपाली कांग्रेसका सांसद केदार कार्कीसहित कांग्रेसका ८ र नेकपा एमालेका ३९ गरी ४७ जना सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएर मुख्यमन्त्रीमा नियुक्तिका लागि आग्रह गरेपछि प्रदेश सांसदहरुको सनाखत गरिने भएको हो ।
मुख्यमन्त्रीका लागि ४७/४७ सांसदको समर्थन रहेको भन्दै कार्की र गठबन्धनका तर्फबाट इन्द्र आङ्बोले दाबी पेस गरेपछि शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुखले सनाखत गर्न लागेका हुन् । सनाखतका लागि दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रका साथ प्रदेश प्रमुखको कार्यालयको सभाहलमा शनिबार बोलाइएको छ ।
कोशी प्रदेशमा मुख्यमन्त्रीका लागि एमालेको समर्थनमा नेपाली कांग्रेसका केदार कार्की र चार दलीय गठबन्धनकातर्फबाट इन्द्र आङ्बोले दाबी पेश गरेपछि विवाद आएको हो । प्रदेश सांसदहरुको सनाखत गर्ने सहमति भएको र आफूहरू यसका लागि पनि तयार रहेको नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी र नेपाली कांग्रेसका प्रदेश सांसद शमसेर राईले जानकारी दिए ।
प्रदेश प्रमुख परशुराम खापुङले असोज २० गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमत सांसदहरूसहित दाबी पेश गर्न असोज २६ गते बेलुका ५ बजे सम्मको समय तोकेका थिए ।
तोकिएको समयमा पनि मुख्यमन्त्री नियुक्ति नगरेपछि कार्की पक्षका प्रदेश सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा स–शरीर धर्ना दिएका हुन् ।















प्रतिक्रिया