
काठमाडौं, २५ असोज । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न मुलुकको आर्थिक विकास र समृद्धि आवश्यक रहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघले बिहीवार काठमाडौंमा आयोजना गरेको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले भ्रष्टाचारको नियन्त्रण र दण्डहीनताको अन्त्यबिना देशको आर्थिक समृद्धि फड्को मार्न नसक्ने र राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न नसक्ने बताएका हुन् ।
मुलुकको समृद्धि र विकासको प्रक्रियालाई तीव्रता दिएर शिक्षा, स्वास्थ्य रोजगारी लगायतका जीवनका आवश्यकताहरू जनताले पूर्ति गर्ने अवस्था ल्याउनुपर्ने उनले बताए । श्रेष्ठले अहिलेको राष्ट्रिय कार्यभार पूरा गर्न राजनीतिक नेतृत्वले सहमतिका साथ काम गरेर मुलुकलाई एकतावद्ध रुपमा अघि बढाउनुपर्ने स्पष्ट पारे ।
अपराध, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासनको स्थापना गर्ने अहिलेको कार्यदिशाको प्रमुख अंग गरेको उनको भनाइ छ । उनले सुशासनको अभियानलाई कमजोर पार्ने प्रयन्त भइरहको भन्दै गृहमन्त्री श्रेष्ठले सुशासनको अभियान बलियो बनाउन सबैले भूमिका खेल्नुपर्ने धारणा राखे ।
कार्यक्रममा जुम्लाकी दिलमाया शाही र सिन्धुपाल्चोककी कमला तामाङलाई नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ ।















प्रतिक्रिया