८ कार्तिक २०८३, आइतबार

भ्रष्टाचारका स्वरुपहरु परिवर्तन हुन थालेकाले नियन्त्रणमा समस्या देखिन थाल्यो: अख्तियार प्रमुख राई

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारका स्वरुपहरु परिवर्तन हुन थालेकाले नियन्त्रणमा पनि समस्या देखिन थालेको बताएका छन् ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा आयोगका प्रमुख राईले प्रमाण सङ्कलन नै गर्न नसकिने गरी भ्रष्टाचारका स्वरुपहरु परिवर्तन हुन थालेको बताएका हुन् ।

भ्रष्टाचारका ठूला कारोवार देशबाहिर हुने गरेको र स्वदेशमा पनि भ्रष्टाचार एउटाले गर्ने र पैसा अर्कोले लिने परिपाटी देखिएको उनले बताए । राईले अहिले स्थानीय तहमा भ्रष्टाचारको संख्या बढ्दै गएको जिकिर गरे ।

स्थानीय उपभोक्ता समितिले नै ठूला संरचना बनाउनका लागि ठेक्का लिने र काम ठेकेदारलाई लगाउदा उपभोक्ता समिति बिचौलिया जस्तो देखिएको उनको भनाइ छ । राईले मालपोत, यातायातका क्षेत्रमा पनि बिचौलियाहरुले पैसा लिएर भ्रष्टाचार हुने गरेको र त्यसलाई नियन्त्रण गर्न असहज भएको बताए ।

उनले भ्रष्टाचार नियन्त्रणका लागि दायरा फराकिलो पारेर कानून निर्माण गर्नुपर्नेमा जोड दिए । भ्रष्टाचारमा अख्तियारले ठूला वा साना नभनेको र ठूला प्रकरणमा अख्तियारले पनि अनुसन्धान गरिरहेको उनले बताए ।

बैठकमा समिति सदस्यहरुले अहिले अख्तियारप्रतिको डर घट्दै गएकाले भ्रष्टाचारको संख्या बढ्दै गएको बताएका थिए ।