शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

एनआरएनएको उपाध्यक्षमा शशीकान्त पौड्यालको उम्मेदवारी

दैनिक नेपाल २०८० असोज २४ गते १५:५१

काठमाडौं, २४ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय उपाध्यक्षमा नेदरल्याण्ड्सबाट शशीकान्त पौड्यालले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

यहि अक्टोवर १७-२० काठमाडौंमा हुने संघको ११औँ महाधिवेशनमा पौड्यालले केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

एनआरएनए नेदरल्याण्ड्सको संस्थापक अध्यक्ष समेत रहेका पौड्याल नेपाल समाज नेदरल्याण्ड्स, नेपाल फण्ड फाउण्डेशन, नेपाल म्युजिक फाउण्डेशन र नेपाली जनसम्पर्क समिती तथा नेपाली व्यवसायीक संघ नेदरल्याण्ड्सको संस्थापक हुन् ।

नेपाल विकास प्रतिष्ठानको संस्थापक तथा सञ्चालक, एनआरएनए आइसीसी सल्लाहकार साथै विभिन्न कार्यदलको प्रतिनिधित्व गर्दै एनआरएनए भवन निर्माण, लाप्राक परियोजना, शंखमुल पार्क निर्माणमा प्रत्यक्ष र परोक्ष भूमिका खेलेका पौड्याल २००६-०१८ नेदरल्याण्ड्समा नेपाल सरकारको पर्यटन दूत समेत हुन् ।

लामो समयदेखि एनआरएनएको विभिन्न भूमिकामा रहेर काम गरेका पौड्यालले विदेशमा रहेका गैरआवासीय नेपालीहरु हकहितको कामसँगै नेपालको सामाजिक क्षेत्रमा पनि हातेमालो गर्दै विभिन्न सहयोगका कामहरु गरेका छन् ।

उनले महिला, बालबालिका तथा पिछडिएको समुदायहरुलाई शिक्षा, स्वास्थ्य, खानेपानी, बायो ग्यास तथा सीपमुलक तालिमहरुको व्यवस्थामा कोष संकलन र व्यवस्थापन गर्ने काम गरेका छन् । उनकै नेतृत्वमा नेपालका विभिन्न जिल्लामा सामुदायिक विद्यालय भवन निर्माण तथा पाठ्यपुस्तकमा सहयोग प्रदान, कास्कीको पुम्दिभुम्दी स्थित आमाघर पाठशाला नमुना स्कुल सञ्चालन भएको छ भने दुई सय भन्दा बढी विपन्न वर्गका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध गराइएको छ ।

लामो समयदेखि एनआरएनएको अभियानमा सक्रिय पौड्यालले एनआरएनएलाई नजिकबाट बुझेका छन् । सोही कारण उनले यसपटक उपाध्यक्षमा निर्वाचित बनेर संस्थालाई अझ सशक्त ढंगले अघि बढाउने योजना बनाएका छन् ।

उनले उपाध्यक्षमा प्रतिस्पर्धा गर्दै गर्दा आफ्ना प्रतिबद्धताहरु समेत सार्वजनिक गरेका छन् । पौड्यालले आफ्नो पहिलो प्रतिबद्धतामा वंशजको नागरिकताको निरन्तरताको लागि आवश्यक पहल थाल्ने बताएका छन् ।

एनआरएनएमा देखिएको ध्रुविकरणलाई एकताको एक एनआरएनए बनाउन पहल गर्ने, एनआरएन भित्र हुने हरेक आर्थिक र प्रशासनिक क्रियाकलापलाई पारदर्शी बनाउने उनले बताए । एनआरएनए देखिएको बेथितिलाई सुधार्दै शुसाशित एनआरएनए बनाउने र संस्था भित्र देखिएका कमिकमजोरीहरुको पहिचान गरी संस्थाको दिगो रुपान्तरण गर्नमा निरन्तर लाग्ने पौड्यालले बताए । आफूलाई संसारभर रहेका गैरआवासीय नेपालीको साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै एनआरएनएको अमूल्य मतको सदुपयोग गर्दै संस्थालाई परिपक्व नेतृत्व प्रदान गर्ने पौड्यालको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित