२८ आश्विन २०८३, बुधबार

भारती मानन्धरले भनिन्– रिगललाई माफी दिन पनि सकिन्छ

5.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । सरकार र राष्ट्रपतिले ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिने निर्णय गरेपछि न्यायको खोजीमा उत्रिएकी भारती मानन्धरले रिगललाई माफी दिन पनि सकिने बताएकी छिन् ।

सोमबार एक टेलिभिनलाई अन्तर्वार्ता दिने क्रममा उनले रिगललाई माफी दिन पनि सकिने बताएकी हुन् । तर, माफी पाउन रिगलले आफूले भनेअनुसार गर्नुपर्ने शर्त राखेकी छिन् ।

अन्तर्वार्ताका क्रममा उनले भनेकी छिन् ‘अहिले उसले हात जोडेर माफी माग्दैमा माफी पाउन सक्दैन । माफी पाउन त उसले पनि आफ्नो हात आफैले काटोस् । म सबै मुद्दा–मामिला फिर्ता लिइदिन्छु । तर, मेरो बुढाले पाएको पीडा उसले पनि भोग्नुपर्छ, उसले आफ्नो हात आफैले काट्नुपर्छ । त्यसबाट बचेको जिन्दगी उसले जियोस् । मलाई कुनै चासो हुँदैन ।’

आफ्नो पतिको हात जसरी काटिएको थियो त्यसरी नै रिगलले आफ्नो हात काटेर पीडाको महसुस गरे माफी दिन र मुद्दा फिर्ता लिन सकिने पीडित भारतीको भनाइ थियो ।

रिगलको डरका कारण अहिले पनि चेतन मानन्धरका बुबा–आमा केही बोल्न नसकेको बताउँदै उनले भनिन्– ‘उहाँ (चेतन मानन्धर) का बुबाआमाले अहिले पनि आफ्नो छोराको हत्यारामाथि प्रश्न उठाउन सक्नुभएको छैन, किनकी उहाँहरूमा ठूलो डर छ । कतै अब उसले हाम्रो परिवारै त सखाप पार्दैन भनेर । तर, मैले आफूलाई सम्हाल्न सकिनँ र बोलेँ । चुप लाग्न सकिनँ । उसले एउटा मान्छेलाई मात्र होइन पूरै परिवारलाई मारेको छ । यो घटनाले गर्दा जिन्दगी तहसनहस भएको छ । जसलाई परेको हुन्छ, त्यसको पीडा त्यो व्यक्तिलाई मात्र थाहा हुन्छ ।’

अहिले उसले हात जोडेर माफी माग्दैमा माफी पाउन नसक्ने उनले प्रष्ट गरेकी छिन् ।

यस्तै, उनले आफ्नो दोस्रो विवाहबारे रिगलले अनावश्यक प्रचार गरिरहेकोमा पनि आपत्ति जनाएकी छिन् । आफूले यसअघि नै सार्वजनिक गरिसकेको विषयलाई उछालेर केही नहुने पनि उनले बताएकी छिन् ।

‘हत्याराले मेरो विवाहको विषयमा औंला उठाउने कुनै अधिकार राख्दैन । पहिले उसले आफूलाई हेरोस्, म को हुँ भनेर । मेरो विवाह भएकोबारे सार्वजनिक रुपमै मैले भनिसकेको छु अहिले उसले उजागर गरिहरनुको कुनै अर्थ छैन । मेरो सासु–ससुराले कन्यादान दिएर मेरो विवाह गरिदिनुभएको हो,’ उनले भनिन् ।