
काठमाडौं, २३ असोज । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल घटनामा मृत्यु भएकाको शव छिटो स्वदेश ल्याउन, घाइतेको उपचारका साथै बेपत्ताको खोजी र नेपालीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ ।
भविष्यमा घट्नसक्ने यस्ता घटनाको पूर्व आंकलन गरेर विदेशस्थित नियोग र दूतावासमार्फत नेपालीहरूको विवरण अद्यावधिक गरी पूर्ण तयारी अवस्था रहने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिइएको सभापति राजकिशोर यादवले जानकारी दिए ।
बैठकमा समिति सदस्यहरुले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीहरुको उद्धारमा ढिलाई नगर्न आग्रह गरेका थिए । समिति सदस्य प्रकाशमान सिंहले नेपालमा फर्कन चाहनेहरुका लागि दूतावासको पहलमा सुरक्षित स्थानमा राखेर स्वदेश फर्काउने व्यवस्था गर्नुपर्ने बताए । इजरायलको घटना निकै संवेदनशिल भएकाले समय समयमा सरकारले जनतालाई आवश्यक सूचना प्रवाह गर्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै समिति सदस्य बर्षमान पुनले इजरायलको द्वन्द्व बढ्न सक्ने भन्दै छिमेकी मुलुकहरुसंग आवश्यक सहकार्य गरेर उद्दारका लागि तयार हुनुपर्ने धारणा राखे ।















प्रतिक्रिया