२८ आश्विन २०८३, बुधबार

वीर अस्पतालका स्वास्थ्यकर्मी हटाउने निर्णय सच्याउन सांसद भट्टराईको ध्यानाकर्षण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । कास्की क्षेत्र न. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले वीर अस्पतालका स्वास्थ्यकर्मी हटाउने निर्णय फिर्ता लिन संसदमार्फत सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

आज आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा आफ्नो धारणा राख्दै उनले वीर अस्पतालमा कार्यरत २३० जना स्वास्थ्यकर्मीलाई सरकारले हटाउने निर्णय गरेकोप्रति विरोध जनाउदै उक्त निर्णय तत्काल सच्याउन आग्रह गरेकी हुन् ।

भट्टराईले वीर अस्पतालको सेवा विस्तार भइ ३५० शैय्याबाट ९०० शैय्यामा वृद्धि गरेर ८३१ नयाँ दरबन्दी स्वीकृत गरिसकेकोतर्फ इङ्गित गर्दै सांसद भट्टराईले स्वास्थ्य मन्त्रालयले करारमा कार्यरत २३० जना कर्मचारीलाई भने असोज २१ गतेदेखि हाजिर नहुनु भनिसकेको बताइन् ।

उनले ५० जना डाक्टर, १६२ जना नर्स, ११ जना प्रयोगशाला प्राविधिक र ८७ जना रेडियोलोजिस्टलाई असोज २१ गतेदेखि सेवामा नआउन स्वास्थमन्त्रीले निर्देशन दिएको समाचार आएको भन्दै तत्काल सो कदम फिर्ता लिन आग्रह गरिन् ।

सरकार एकातिर थप दरबन्दी स्वीकृत गर्ने अर्कोतर्फ कार्यरत स्वास्थ्यकर्मीलाई सेवाबाट हटाउने काम गरिरहेकोमा दु:ख व्यक्त गर्दै उनले यसबाट चाडबाडका बेला सर्वसाधारण निजी अस्पताल जान बाध्य हुने तर्क गरिन् । सांसद भट्टराईले स्वास्थकर्मीहरूलाई प्रोत्साहित गर्दै सेवा प्रदान गर्ने अवसर दिन संसदमार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

आर्थिक अवस्थाको कारण देखाई हटाउन गरिएको निर्णयले अस्पतालको सेवा प्रभावित भएर गुणस्तर खस्किने र सर्वसाधारण बाध्य भएर निजी अस्पताल जानुपर्ने बातावरण स्वयम् सरकारले नै सृजना गर्नु दु:खद भएको उनको भनाइ छ ।