
काठमाडौं, २१ असोज । सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले देशभर सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।
सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गरेको हो ।

सुपथ मूल्य पसलको खाद्य व्यवस्था तथा व्यापार कम्पनी काठमाडौंमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले शुभारम्भ गरे । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको मन्त्री रिजालले बताए ।
उनले बजारमा व्यावसायिक क्रियाकलापलाई स्वच्छ पारदर्शी एवम् प्रतिस्पर्धी बनाउँदै गुणस्तरीय बस्तु तथा सेवामा उपभोक्ताको पहँुच पुर्याई उपभोक्ताको अधिकार संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको धारणा व्यक्त गरे । सरकारले अहिले संयुक्त बजार अनुगमनको कार्ययोजना तयार गरि निरन्तर बजार अनुगमन गरिरहेको उनको भनाइ छ ।

अनुगमनका क्रममा उपभोक्ताको अधिकार र हितबिपरीतको कार्य गर्नेलाई सरकारले निर्मम भएर कारवाही गर्ने प्रतिवद्धता मन्त्री रिजालले जनाएका छन् ।
चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । काठमाडौँ उपत्यकामा रहेका बिक्री केन्द्र र तीन घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरणको व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

उपत्यकाबाहिर झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, मुस्ताङ लगाएतका स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ ।
बिक्री कक्षबाट उपभोक्ताले सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो, तेल लगाएतका खाद्य सामग्रीहरूमा छुट पाउने व्यवस्था समेत गरिएको छ ।
















प्रतिक्रिया