
बझाङ, १९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार उपलब्ध गराउने घोषणा गरेका छन् ।
मङ्गलबारको भूकम्पबाट प्रभावित क्षेत्रको अवलोकनका लागि आज बझाङको सदरमुकाम चैनपुर पुगेका प्रधानमन्त्रीले पीडित परिवारको आवश्यकतालाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
उनले सदस्य सङ्ख्याका आधारमा प्रभावित परिवारलाई १५ देखि २० हजार उपलब्ध गराउने जानकारी दिए । भूकम्प पीडितलाई तत्काल राहत तथा अस्थायी टहरा निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले सङ्घीय, प्रदेश र स्थानीय सरकार सबै प्रभावित जनताको साथमा छ, सरकार जनतासँगै रहेको बताए ।
प्रधानमन्त्री दाहालले भूकम्पबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन गरी क्षति पुगेका संरचनाको प्रबलीकरण वा पुन:निर्माण गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
भूकम्पमा परी घाइते भएकाको नि:शुल्क उपचार भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले भूकम्पपछि आएको पहिरोमा परी ज्यान गुमाएकी जयपृथ्वी नगरपालिका–११ स्थित ओखलकी ४० वर्षीया गुनमति धाँमीका परिवारलाई तत्काल दुई लाख राहत दिने बताए ।















प्रतिक्रिया