२८ आश्विन २०८३, बुधबार

एमालेको आन्तरिक लोकतन्त्रमाथि खेलेर विभाजन ल्याउन खोजिदैछ : शंकर पोखरेल

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । नेकपा एमालेका महासचिव एवम् लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले एमालेभित्रको आन्तरिक लोकतन्त्रमाथि खेलेर पार्टीलाई विभाजन गर्न खोजिएको बताएका छन् ।

नेकपा एमाले उपत्यका प्रदेश विशेष कमिटीको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई आज शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले एमालेले पछिल्लो समय अवलम्बन गरेको आन्तरिक लोकतन्त्रलाई गलत ढंगबाट प्रचार गरेर पार्टीमा विभाजन ल्याउन प्रयास भइरहेको बताएका हुन् ।

पार्टीका संगठनहरूको नेतृत्व चयनका क्रममा भइरहेको स्वस्थ प्रतिस्पर्धालाई विभिन्न नेताहरूको नाम जोडेर सामाजिक सञ्जाल र कतिपय आमसञ्चारका माध्यमहरूले समेत प्रचार गरिरहेको उनको भनाइ छ । प्यानलबाजी गर्ने र लिष्ट बाँड्ने काम गरेर पार्टीमा विभाजनको बीउ नरोप्न पनि उनले आग्रह गरेका छन् ।

यस्तै, अहिले राष्ट्रिय राजनीति चुनौतीपूर्ण र सङ्कटग्रस्त रहेको बताउँदै महासचिव पोखरेलले ती चुनौती सामना गर्न नेकपा एमालेलाई सुदृढ गर्न आवश्यक रहेको बताएका छन् । देश बन्न नसक्नुको प्रमुख कारण राजनीतिक अस्थिरता भएको उनँले प्रष्ट पारे ।

एमालेलाई एक्लै बहुमत प्राप्त गर्ने शक्तिको रूपमा विकास गर्न अघि बढ्नु पर्नेमा जोड दिँदै उनले राजनीति अस्थिरता हाम्रा लागि अभिशाप बनिरहेको बताए ।

यसैगरी, समाजमा उत्पन्न सामाजिक अराजकता आजको अर्को ठूलो चुनौती रहेको पोखरेलको भनाइ छ । नेपाललाई कमजोर बनाउन यस्ता क्रियाकलाप भइरहेको भन्दै उनले नेपाली समाजलाई कमजोर बनाउनका लागि धार्मिक, जातीय र सांस्कृतिक द्वन्द्व फैलाउने प्रयास भइरहेको स्पष्ट गरे ।

नेपाललाई सामाजिक सुरक्षामा आधारित लोककल्याणकारी राज्य बनाउने एमालेको अभियानलाई असफल बनाउन अदालतको सहारा लिएर एमाले नेतृत्वको सरकार ढाल्ने काम गरिएको पोखरेलले बताए । एमाले जनताको जीवन सुरक्षा, देशको विकास, समृद्ध र राष्ट्रियताको पक्षमा गरेको काम देखेर एमालेलाई नियोजित रूपमा विभाजन गर्ने काम गरिएको पनि उनले खुलासा गरे ।

गठबन्धन सरकारले जनता र राष्ट्रलाई कुनै सकारात्मक सन्देश दिन नसकेको बताउँदै महासचिव पोखरेलले सरकार साधारण खर्च समेत धान्न नसक्ने अवस्थामा पुगेको र समाजवादका नाममा दलाल पुँजीपतीहरूलाई संरक्षण गर्ने काम गरिरहेको बताए ।