
पोखरा, १८ असोज । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न भएको छ ।
आज बिहीबार पोखरामा भएको मतदानमा ८९६ मत खसेको छ । अधिवेशन प्रतिनिधिको रुपमा गण्डकी प्रदेशका ११ जिल्ला र जनसंगठन समेत गरेर ९०६ जना प्रतिनिधि चयन भएका थिए ।
तर, मतदानमा १० जना प्रतिनिधि (मतदाता) हराएका छन् ।
मतदानका लागि निर्वाचन तालिकामा कार्यालयले साँझ साढे ५ बजेसम्मको समय मतदानको लागि निर्धारण गरे पनि निर्धारित समयभन्दा झण्डै चार घण्टा पछि केहीबेरअघि मतदान सकिएको हो ।
अधिवेशनमा म्याग्दीका नवराज शर्मा र लमजुङका मायानाथ अधिकारीबीच नेतृत्वका लागि प्रतिस्पर्धा छ ।
उपाध्यक्षमा नवलपुरका बाबुराम विक र स्याङजाका मिनप्रसाद गुरुङ, सचिवमा कास्कीका रश्मि आचार्य र लमजुङका धनञ्जय दवाडी, उपसचिवमा म्याग्दीका सन्तोष रावल र दामबहादुर विक, उपसचिव महिलामा कास्कीकी मिना गुरुङ र मञ्जु अधिकारी प्यासी प्रतिस्पर्धामा छन् ।
पदाधिकारीसहित कुल १६२ पदमध्ये २७ जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।
अब केहीबेरपछि मत गणना सुरू गरिने निर्वाचन समितिले जनाएको छ । विद्युतीय भोटिङमार्फत मतदान भएकाले गणना सुरू भएको एक घण्टामा सबै नतिजा सार्वजनिक भइसक्ने बताइएको छ ।













प्रतिक्रिया