२८ आश्विन २०८३, बुधबार

माछापुच्छ्रे बैंकको साधारण सभा सम्पन्न, लाभांश र मर्जरबारे के भयो निर्णय ?

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । माछापुच्छ्रे बैंकको २५औँ वार्षिक साधारण सभा आज बिहीबार पोखरामा सम्पन्न भएको छ ।

पोखराको होटेल पोखरा ग्राण्डमा भएको साधारण सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ को लागि जीपी राजबहाक एण्ड कम्पनी लेखापरीक्षक नियुक्ति गर्ने निर्णय गरेको छ ।

बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरूलाई गत आर्थिक वर्षको मुनाफबाट चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, साधारणसभाले माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा कायम गरेको थियो । हाल बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ सञ्चित रहेको छ ।

साधारण सभालाई सम्बोधन गर्दै बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले देशको आर्थिक स्थितिलाई मजबुत बनाउन बैंकको तर्फबाट यथासक्य योगदान पुर्‍याउने उद्देश्यका साथ सन्तुलित रुपमा निक्षेप तथा कर्जा लगानीलाई वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नवीकरणीय ऊर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरूमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राख्दै शेयरधनीहरूलाई समेत उचित प्रतिफल प्रदान गर्ने रणनीतिमा बैंक सदैव लागि परेको जानकारी गराए ।

कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरू मुकुन्द महत र जयमुकुन्द खनालले आ–आफ्नो मन्तव्य व्यक्त गर्दै बैंकले आफ्नो आन्तरिक तथा बाह्य लेखापरीक्षण कार्यलाई नियमित बनाई बैंकको वित्तीय अवस्थालाई थप पारदर्शी बनाएकोमा खुसी व्यक्त गरे । आगामी दिनमा यस्ता कार्यहरूलाई निरन्तरता दिने कार्यमा सञ्चालक समितिको साथ रहिरहने विश्वास उनीहरूले व्यक्त गरे ।