
काठमाडौं, १८ असोज । नेकपा माओवादी हुँदै जनमत पार्टी परित्याग गरी आज नेकपा एमालेमा प्रवेश गरेका पूर्वमन्त्री शिवचन्द्र कुशवाहले नेकपा एमाले परिपक्व पार्टी भएकाले यसलाई बलियो बनाउनुपर्ने बताएका छन् ।
मुलुकको विकास र समृद्धिको अभियान एमालेले मात्रै अघि बढाउनसक्ने भन्दै उनले एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताएका हुन् ।
एमालेसँग सहि कार्यदिशा र कार्यनीति नभएका कारण जनयुद्ध लडेका माओवादीहरू र एमालेबाट गएका माओवादीहरू एमालेमै समाहित हुने क्रम चलिरहेको उनको भनाइ छ । पाको पार्टी एमालेलाई बलियो बनाउनुपर्ने धारणा व्यक्त गर्दै उनले एमालेबाटै समृद्धिको सपना साकार हुने विश्वास व्यक्त गरेका छन् ।
माओवादी केन्द्र छाडेर जनमत पार्टीमा पुगेका कुशवाह आज एमालेमा प्रवेश गरेका छन् । उनी गत निर्वाचनमा बारा–२ मा उम्मेदवार बनेका थिए ।
उनको साथ अन्य पाँच दर्जन नेता तथा कार्यकर्ता पनि एमालेमा समाहित भएका छन् । पार्टी प्रवेशले एमाले बारालाई बलियो बनाएको उनको भनाइ छ ।













प्रतिक्रिया