
काठमाडौं, १८ असोज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ भनिएका पार्टीहरूले देश हाँक्न नसक्ने बताएका छन् ।
आज बुधबार पार्टी कार्यालय च्यासलमा बाराका नेता शिवचन्द्र कुशवाहलाई एमाले प्रवेश गराउँदै उनले नयाँ भनिएका पार्टीहरूसँग देशलाई हाँक्न सक्ने कुनै सोच र योजना नरहेको बताएका हुन् ।
उनले नयाँ पार्टीहरूसँग सही ढंगले उम्मेदवार चयन गर्न सक्ने क्षमता समेत नरहेको टिप्पणी समेत गरेका छन् । त्यस्तै पुराना भन्ने पार्टीहरूले पनि केही गर्न नसकेको जिकिर उनको छ ।
यस्तै, उनले कांग्रेस पार्टी थोत्रो भएको र ८७ सीट हुँदा पनि ३२ सिटको पछाडि हिँडेको बताए । कांग्रेसको पछाडि लाग्नु माधव नेपाललाई सुहाए पनि कांग्रेसलाई भने नसुहाउने धारणा उनको छ । अध्यक्ष ओलीले माओवादीका नेता कार्यकर्ताहरूले पनि आफूसँगको भेटमा पीडा पोख्ने गरेको पनि बताएका छन् ।
माओवादीमा छोरी ज्वाइँ, भाइ भतिजा भान्जा सप्रे पनि तमाम माओवादी कार्यकर्ता तड्पिन बाध्य भएको उनको भनाइ छ । गरिवी निवारण गर्न सक्ने, सामाजिक समानता कायम गर्न सक्ने पार्टी एमालेबाहेक अरु कुनै नरहेको दाबी उनको छ ।
एमालेको सुखी नेपाली समृद्ध नेपाललाई अन्य दलले बोल्न पनि नसकेको अध्यक्ष ओलीले बताए ।













प्रतिक्रिया