२८ आश्विन २०८३, बुधबार

मलेसियामा अलपत्र ८ नेपाली भन्छन्ः हामी ट्वाइलेटको पानी खाएर बाँचिरहेका छौं

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा, १७ असोज । मलेसियालगायत खाडी मुलुक जाने कामदारका लागि सरकारले ‘फ्रि भिसा, फ्रि टिकट’ लागू भएको बताइरहँदा लाखौं रकम तिरेर मलेसिया पुगेका आठ नेपाली बिचल्लीमा परेका छन् ।

काठमाडौंमा रहेको मोभिरा एचआर, अम्टी ग्लोबल र गोरखा म्यानपावरबाट विभिन्न समयमा त्यहाँ पुगेका उनीहरूलाई कम्पनीले काम नदिएपछि अहिले विगत दुई/तीन महिनादेखि बिनातलब कोठामै बस्न बाध्य भएको त्यसमध्येका एक जना सिन्धुलीका बिसुराज वाइबाले जानकारी दिए ।

मेनपावरलाई मोटो पैसा बुझाएर मलेसियाको एक कम्पनीमा ‘क्लिनर’ कामका लागि पठाएको भए पनि त्यहाँ उनीहरूलाई केही महिना होटलमा काम लगाएको र अहिले होटलबाट निकाली दिएपछि कामविहीन भएर बसेको वाइबाले बताए ।

उनीहरूले एक भिडियो सन्देश जारी गर्दै कम्पनीले लामो समयदेखि काम नदिएको, कोठामा एसी वा पंखा नभएको, बेंसी तलब पनि नदिएको, खानाको पनि समस्या भएको र ट्वाइलेटको पानी पिएर बसिरहेको बताएका छन् ।

कि त आफूहरूलाई काम दिलाई दिन, होइन भने बेसिक तलब दिलाइदिन र त्यो पनि नभए आफूहरूलाई नेपाल झिकाउन उनीहरूले जारी गरेको भिडियो सन्देशमा भनेका छन् ।

मेनपावर कम्पनीले राम्रो कमाइ हुने प्रलोभन दिएर आफूहरूसँग २ लाख ६० हजार रुपैयाँसम्म असुली गरेर यहाँ पठाएको उनीहरूले बताए । ‘ऋण काढेर विदेश आइयो, यहाँ धन कमाउने त कता हो कता खाने बस्नेसम्म टुंगोे छैन,’ वाइबाले भने, ‘यहाँ आएको ऋण तिर्नै बाँकी छ, यता नेपाल घर परिवारलाई के पठाउने परिवार पनि पीडामा छन् ।’

‘कम्पनी अन्तर्वार्ताका लागि आउँछु भन्छ तर आउँदैन, कहिले डाइभर, होटल, क्लिनरमा काम दिने भनेर झुक्याउँछ, काम दिन नसक्ने भए घर पठाइदिनुभन्दा उल्टै पैसा दिए मात्र घर पठाउने भनेर धम्क्याउने गरिएको छ,’ उनले भने ।

समस्या म्यानपावरलाई जानकारी गराउँदा अबदेखि यहाँ फोन नगर्नु भन्दै फोन राख्ने गरेको उनीहरूको आरोप लगाएका छन् ।

कम्पनीले काम गरेको तलब नदिएको र काम गरेको १८ दिनपछि कामबाट निकाली कुट्न खोज्ने गरेको कारण आफू समस्यामा परेको अर्का पीडित रमेश योञ्जनले दूतावासलाई लेखेको निवेदनमा उल्लेख गरिएको छ । ‘अब म नेपाल जान्छु मेरो काम गरेको तलब दिनुभन्दा कम्पनीले छैन जे गर्छस् गर भनेर धम्क्याउने गरेको छ,’ उनले भने ।

नेपालगन्जका गिरधरी मंगटाले भने, ‘कम्पनीले ६ महिना काममा लगायो, त्यसपछि अहिले होस्टेलमा ल्याएर राखिदिएको छ, खाने पैसा पनि दिएको छैन, कि काम दिनुपर्‍यो, होइन भने नेपाल फर्काइदिनुपर्‍यो,’ नेपालगन्जका गिरधरी मंगटाले थपे ।

उनीहरूले आफूहरूको समस्या त्यहाँस्थित दूतावासलाई पनि लिखित जानकारी गराएको बताएका छन् । उनीहरूले कम्पनीले काम दिए गर्ने र नदिए आफूहरूलाई सकुशल उद्धार गरी स्वदेश फर्कने वातावरण मिलाइदिन र म्यानपावरका सञ्चालकलाई कारबाही गरी क्षतिपूर्ति दिलाइ दिन नेपाल सरकार, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, नेपाली दूतावासलगायत सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

अलपत्र पर्नेहरूमा नेपालगन्जका गिरधरी मंगटा, सिन्धुलीका बिसुराज वाइबा, नुवाकोटका विकास विश्वकर्मा, बैतडीका प्रकाश धामी, सिराहाका मिथुन कपैर, रामेछापका छत्रबहादुर बस्नेत, धनुषाका शत्रुधन महरा र रमेश योञ्जन रहेका छन् ।

पछिल्लो समय रोजगारीका लागि सयौं नेपाली अलपत्र परेको र त्यस विषयमा उनीहरूलाई पठाउने मेनपावरसँग सम्पर्क गर्दा समस्या समाधान गर्छौं भन्ने गरेको भए पनि नटेर्ने गरेको पाइएको छ । मेनपावर नटेर्ने र सरकार नसुन्ने हुँदा त्यहाँ अलपत्र परेका नेपाली थप पीडामा छन् । आजको राजधानी दैनिकमा खबर छ ।