
लमजुङ, १६ असोज । पर्यटन तथा साना उद्योग कार्यालय लमजुङले आजदेखि एक महिने ड्राइभिङ तालिम सञ्चालन गरेको छ ।
जिल्लाका चार वटा नगरपालिका र चार वटा गाउँपालिका गरी आठ वटा पालिकाबाट फर्म भरेका ८५ जना युवामध्ये २० जना युवालाई छनौट गरी आजदेखि तालिम सुरु गरिएको हो ।
तालिमको उद्घाटन गर्दै कार्यालयका प्रमुख मिताकुमारी थापाले चालू वर्षको शीप विकास तालिमअन्तर्गत तालिम सञ्चालन गरिएको जानकारी दिइन् । जिल्लामा रहेका बेरोजगार युवाहरूलाई शीप सिकाएर स्वारोजगार बनाउँदै आयआर्जनमा वृद्धि गराउनका लागि शीपमूलक तालिम सञ्चालन गरिएको बताइन् ।
तालिममा जिल्लाका आठ वटै पालिकाका युवाहरूलाई समेटिएको उनको भनाइ छ । तालिममा सहभागीहरूलाई ध्यान दिएर तालिम लिन र लिएको तालिमलाई व्यवहारमा उतार्न समेत उनले आग्रह गरेकी छिन् ।
जिल्लामा रहेका बेरोजगार, आर्थिक अवस्था कमजोर भएका युवाहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
तालिमका लागि कार्यालयले गत भदौ २७ गतेदेखि असोज २ गतेसम्ममा आवेदन खुला गरेको थियो । सो समयमा जिल्लाका ८५ जना युवाहरूले फर्म भरेका थिए । फर्म भरेकाहरूलाई कार्यालयले छनौट समिति निर्माण गरी अन्तर्वार्ताका लागि छनौट गरेको थियो । सहभागी भएकामध्येबाट २० जना छनौट गरी तीन जनालाई वैकल्पिकमा राखिएको बताइएको छ ।
तालिममा सहभागीलाई बेंसीशहर नगरपालिका ८ सेरास्थित कालिका ड्राइभिङ सेन्टरका कर्मचारीहरूले प्रशिक्षण दिने छन् । चारपांग्रे गाडीको प्रयोग गरी ड्राइभिङका लागि आवश्यक सवै कुराहरू प्रयोगात्मक सिकाइने छ ।













प्रतिक्रिया