२८ आश्विन २०८३, बुधबार

शब्दकोषबाट ॐ हटाउने निर्णयबारे के भन्छन् पूर्वशिक्षामन्त्री शर्मा ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । नेपाली शब्दकोषबाट ॐ शब्द हटाउने निर्णय भएको चर्चा चलिरहेका बेला पूर्वशिक्षामन्त्री दिनानाथ शर्माले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

नेकपा माओवादी केन्द्रका नेता समेत रहेका शर्माले आज एक विज्ञप्ति जारी गर्दै ॐ शब्द हटाउने विषयमा आफू शिक्षामन्त्री हुँदा कुनै निर्णय नभएको जिकिर गरेका छन् ।

उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘केही दिनयता सामाजिक सञ्जालहरूमा १२ वर्ष पहिले म शिक्षामन्त्री भएको समयमा ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्ने कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो कार्यकालमा त्यस प्रकारको कुनै पनि निर्णय भएको थिएन ।’

वैदिककालदेखि प्रचलनमा रहेका श्री, ॐ जस्ता शब्द हटाउने कुरा सोच्न पनि नसकिने र शब्दकोश, किबोर्डबाट अहिलेसम्म कतै नहटेको तथ्य प्रष्ट पार्दै भ्रममा नपर्न उनले सबैमा अनुरोध समेत गरेका छन् ।

‘संघीयताविरोधी केही अराजक, अतिवादी समूहले देशको विभिन्न भागमा जाति, भाषा, धर्म संस्कृति जस्ता जनताका अत्यन्तै सम्वेदनशील र भावनात्मक विषयलाई उछालेर जनताको भावना भड्काउँदै व्यक्तिको मानमर्दन गर्ने एवम् सामाजिक सद्भाव बिथोल्ने अराजक अतिवादी गतिविधि प्रदर्शन गर्दै आएको कुराप्रति सचेत रहँदै सामाजिक मर्यादा र सद्भाव कायम राख्न पनि अनुरोध गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन् ।