
काठमाडौं, १६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई संघीयता विघटनका लागि कोशी प्रदेशबाट रिले हुँदै आमरण अनशन सुरू गर्न सर्वसाधारणले सुझाव दिएका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले विद्यमान कोशी प्रदेश सरकारलाई विश्वासको मत दिँदा ठिक होला कि नहोला भनेर सार्वजनिकरूपमा फेसबुकमा राखेको जिज्ञासामा एक जना व्यक्तिले संघीयता विघटनका लागि त्यही प्रदेश सभाभित्र रिले हुँदै आमरण अनशन बस्न सुझाव दिएका हुन् ।
फेसबुक प्रयोगकर्ता सोमनाथ घिमिरेले प्रतिक्रिया लेख्दै भनेका छन्, ‘माननीयज्यू, संघीयता विघटनका लागि त्यही प्रदेश सभाभित्र रिले हुँदै आमरण अनशन बस्ने ! एकातिर भ्रस्टाचार, महङ्गी, अपराधीकरणले देश युवा र दक्ष जनशक्तिबिहीन भएर रित्तिने भयो भने अर्कोतिर विदेशीको प्रयोगशाला र क्रिडास्थल बन्दैमा नेपालीको गौरवशाली सनातनी अस्थित्व र हाम्रो पुस्तौँपुस्ता बर्वाद हुने भयो । धन्यवाद !!!’
त्यसअघि अध्यक्ष लिङ्देनले कोशी प्रदेश सरकारलाई दिने विश्वासको मतबारे सार्वजनिकरूपमा जिज्ञासा राख्दै लेखेका थिए, ‘कोसी प्रदेशमा राप्रपाले के गर्दा राम्रो होला ?’
जवाफमा धेरैले सत्ता फेरबदलको खेलमा नलागी वर्तमान सरकारलाई विश्वासको मत दिएर स्थिरता प्रदान गर्न सुझाव दिएका छन् । केहीले कतै सहभागी नहुन पनि सुझाव दिएका छन् ।
यस्तै, प्रदेशलाई मध्यावधितिर धकेल्ने काममा राप्रपा अग्रसर हुन नहुने विचार पनि धेरैले व्यक्त गरेका छन् । केहीले कोशी प्रदेशको नेतृत्व लिएर राम्रो काम गर्ने र आगामी निर्वाचनमा जनताको मन जितेर ठूलो पार्टी बन्न सकिने सुझाव पनि दिएका छन् ।
लिङ्देनको जिज्ञासामा प्रतिक्रिया जनाउनेहरूमध्ये धेरैले संघीयता खारेजीको प्रक्रियाम सुरू गर्नुपर्ने मत व्यक्त गरेका छन् ।













प्रतिक्रिया