बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

एनआरएनए महिला संयोजकमा लोकदोहोरी गायिका देविका केसीको उम्मेदवारी घोषणा

दैनिक नेपाल २०८० असोज १६ गते ९:१५

काठमाडौं, १६ असोज । क्यानडा निवासी चर्चित लोकदोहोरी गायिका देविका केसी (देवकी खत्री)ले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को आगामी कार्यकाल (२०२३–०२५) का लागि महिला संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

यहि असोज ३० गते काठमाडौंमा हुन लागेको संघको ११औँ महाधिवेशनमा क्यानडाबाट प्रतिनिधित्व गर्दै गायिका केसीले दुई वर्षे कार्यकालका लागि उम्मेदवारी घोषणा गरेकी हुन् ।

एनआरएनए भित्र महिला सशक्तिकरणको आवाज अझै बुलन्द पार्न ‘महिला सशक्तिकरण, सबैलाई जोड्ने एनआरएनए’, र ‘नारी शसक्तिकरण हाम्रो अभियान, भाषा कला संस्कृति हाम्रो पहिचान’ भन्ने नारा सहित महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेको उनले बताएकी छन् ।

एनआरएनए एनसीसी कतारको उपाध्यक्ष (२०१५/१७) र आइसीसी सदस्य (२०१७/१९) समेत भइसकेकी केसीले हाल क्यानडालाई कर्मथलो बनाएकी छन् ।

चर्चित लोकदोहोरी गायिका केसीले प्रवासमा रहेर लोक गीत संगीतको माध्यमबाट नेपाली कला संस्कृतिको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएकी छन् । गायन पेशामा सक्रिय केसीले सामाजिक सेवाका कार्यहरु पनि गर्दै आएकी छन् ।

एनआरएनएले सञ्चालन गरेका विभिन्न परियोजनाहरुमा सक्रिय सहभागी भएर काम गर्दै आएकी केसीले नेपाली समुदायले गर्ने हरेक कार्यमा हातेमालो गर्दै नेपालमा दुःख परेका कलाकर्मीहरुलाई सहयोग जुटाउने, महिला, बालबालिका, असक्त बिरामीहरुलाई पनि सक्दो सहयोग गर्दै आएकी छन् ।

एकदर्जन भन्दा बढी गीतको एल्बम् निकालेकी गायिका केसीले दर्जनौ गीतहरु गाएकी छन् भने स्वदेश तथा विदेशका सयौं कार्यक्रमहरुमा आफ्नो गायन कला प्रस्तुत गरिसकेकी छन् ।

‘विदेशमा रहेता पनि म नेपाली महिला दिदीबहिनीहरुका सुख दुःखसँग परिचित छु । लामो समयदेखि विदेशमा रहेका नेपाली महिला दिदीबहिनीहरुका सुख दुःख को साक्षी र एनआरएन अभियानलाई नजिकबाट बुझेको हुँदा एनआरएन अभियानलाई साथमा लिँदै महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेकी छु ।’ उनले भनिन् ।

महिला संयोजक पदकी उम्मेदवार केसी लोकप्रिय लोकदोहोरी गायिकाको साथै कुशल कार्यक्रम प्रस्तोता र सञ्चालकको रुपमा पनि नेपाली समुदायमा परिचित रहेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित