
पोखरा, १५ असोज । नेकपा एमालेका सचिव गोकर्ण विष्टले नेकपा एमाले बलियो भए मात्रै जनताको अधिकार रक्षा हुने बताएका छन् ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनलाई आज पोखरामा सम्बोधन गर्दै उनले जनताको अधिकार रक्षाका लागि विगतदेखि नै एमाले लड्दै आएको र अहिले पनि लडिरहेको बताएका हुन् ।
जनताको अधिकार रक्षाका लागि एमाले बलियो राष्ट्रिय शक्ति बन्नुपर्नेमा जोड दिँदै सचिव बिष्टले त्यसका लागि पार्टी पंक्ति एकढिकक्का भएर अघि बढ्नुपर्ने बताए ।

नेपाली युवाले युरोप र जापानको सपना देखेको बताउँदै उनले अबको १५/२० वर्षमा युरोप–जापानका युवाको आकर्षणको केन्द्र नेपाल बनाउने गरी नेकपा एमाले योजनावद्ध रुपमा अघि बढिरहेको स्पष्ट गरे । त्यसका लागि पहिला नेकपा एमाले बलियो बन्नु पर्ने विचार उनको छ ।
यस्तै, नेकपा एमालेकी सचिव पद्मा अर्यालले एमालेको काँधमा धेरै अभिभारा रहेको उल्लेख गर्नुहुँदै परिवर्तनको बाधक दलाल पुँजीवाद, पार्टीभित्रको सांगठनिक अराजकता र दक्षिणपन्थी अवसरवादलाई परास्त गर्नुपर्ने बताइन् । राष्ट्र निर्माणको अभिभारा एमालेको काँधमा भएको बेला पार्टी आन्तरिक समस्यामा फस्नु नहुने पनि उनले बताएकी छिन् ।

गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य खगराज अधिकारी, थममाया थापा लगायतका नेताहरूले पार्टीभित्रको एकतालाई मजबुत बनाएर एमालेलाई बलियो पार्टी बनाउनु आजको मुख्य आवश्यकता रहेको बताए ।













प्रतिक्रिया