२८ आश्विन २०८३, बुधबार

एमालेको खबरदारीपछि सरकारले इन्धनको मूल्य घटाएको हो : शंकर पोखरेल

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १५ असोज । नेकपा एमालेका महासचिव एवम् लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले एमालेले खबरदारी गरेपछि पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकार बाध्य भएको बताएका छन् ।

आजदेखि पोखरामा सुरू भएको गण्डकी प्रदेश कमिटीकोको प्रथम अधिवेशन उद्घाटन गर्न आज पोखरा आएका महासचिव पोखरेलले सरकार दिनप्रतिदिन जनहितविपरीत कार्यमा लागेकाले एमालेले खबरदारी गरिरहेको र खबरदारीकै कारण पछिल्लो पटक इन्धनको मूल्य घटाउन सरकार बाध्य भएको बताएका हुन् ।

उनले देशलाई गम्भीर आर्थिक संकटमा लैजाने काम वर्तमान गठबन्धन सरकारले गरिरहेको पनि बताएका छन् । वर्तमान गठबन्धन सरकार जनताको नभइ दलाल नोकर साहीहरूको भएको र नोकरसाहीहरूकै हितमा काम गरिरहेको महासचिव् पोखरेलको भनाइ छ ।

विद्यमान आर्थिक सङ्कट निवारण गर्नसक्ने क्षमता नेकपा एमालेसँग मात्रै रहेको चर्चा गर्दै महासचिव पोखरेलले मुलुकमा आउने विभिन्न सङ्कटहरू एमाले र एमाले नेतृत्वको सरकारले सजिलै परास्त गरेको घटनाक्रमहरू सुनाए ।

देशलाई शान्ति प्रक्रियामा ल्याउन, संविधान जारी गर्न र त्यसलाई कार्यान्वयनका लागि एमालेले नेतृत्व गरिरहेको उनको धारणा थियो ।

यस्तै, नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अझै १० वर्ष एमालेमा केपी शर्मा ओलीको विकल्प नभएको बताए । केपी ओली नभए राष्ट्रिय स्वाधीनताको यात्रा बिथोलिन सक्ने बताउँदै उनले कम्तीमा १० वर्ष अध्यक्ष ओलीको विकल्प नदेखेको बताएका हुन् ।

पार्टीको मात्र नभइ मुलुककै नेतृत्वका लागि पनि ओलीको अपरिहार्यता रहेको टिप्पणी उनको थियो ।