आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

२ करोड अडियो काण्ड: गुरुङलाई कारबाही, श्रेष्ठलाई सफाइ

दैनिक नेपाल २०८० असोज १५ गते ८:५८

पाँचथर, १५ असोज । गत असारमा सामाजिक सञ्जालमार्फत एउटा सनसनीपूर्ण श्रव्य (अडियो) सामग्री बाहिरिएको थियो । जुन अडियोमा नेपाली कांग्रेस पाँचथरका सहसचिव सन्तोष श्रेष्ठ र फिदिम नगर सभापति प्रकाश गुरुङबिच वार्तालाप भएको छ ।

अडियोमा भाञ्जा भनिएका श्रेष्ठ र मामा भनिएका गुरुङबिच भएको फोन वार्तामा २०७९ मा भएको स्थानीय तह निर्वाचनमा फिदिम नगरपालिकाको प्रमुख पदको टिकट लिन २ करोड रुपैयाँको लेनदेन भएको संवाद छ ।

फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी आरजु राणालाई प्रमुखको टिकट लिन २ करोड रुपैयाँ बुझाएको सो फोनवार्तामा भनिएको छ ।

यही अडियो प्रकरणका दुईमध्ये एक गुरुङलाई नेपाली कांग्रेस अनुशासन समितिले कारबाही गरेको छ । फिदिम नगरपालिका–४ का पूर्वजननिर्वाचित वडाअध्यक्ष र हालः पार्टीको फिदिम नगर सभापति रहेका गुरुङलाई अनुशासन समितिले कारबाही गरेको हो ।

गुरुङलाई नेपाली कांग्रेसको विधान (संशोधनसहित) धारा ३४ को उपधारा १ (क), (ख), (घ), (च) र उपधारा ८ को (ङ) बमोजिम तीन वर्षसम्म सदस्यताबाट निष्कासन गरिएको जनाइएको छ ।

अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगानाद्वारा हस्ताक्षरित पत्रमा अडियो प्रकरण’bout दुवै जनालाई सोधिएको स्पष्टीकरणमा गुरुङको स्पष्टीकरण चित्त बुझ्दो नभएको र पार्टीको अनुशासन उल्लंघन गरेको देखिएकाले कारबाही गरिएको उल्लेख छ । श्रेष्ठले भने स्पष्टीकरणमा आत्माआलोचनासहित माफी मागेकाले नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ३० (क) बमोजिम सचेत गराउने निर्णय भएको पत्रमा उल्लेख छ ।

अनुशासन समितिले नेपाली कांग्रेस जिल्ला कार्य समिति पाँचथरलाई सो बेहोराको पत्र पठाउँदै गुरुङलाई कारबाही र श्रेष्ठलाई सफाइ दिएको हो । गुरुङले भने आफू बीपीको सिद्धान्तबाट प्रेरित भएर कांग्रेस बनेको भन्दै कारबाहीले आफूलाई केही फरक नपर्ने र आफू विचलित नुहुने प्रतिक्रिया दिएका छन् । आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया
सम्बन्धित