७ कार्तिक २०८३, शनिबार

विष्णुशीतल फाउन्डेशनद्वारा उत्कृष्ट छात्रा पुरस्कृत

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । प्रस्तावित विष्णु शीतल फाउन्डेशनले सामाजिक सेवाको शुरुवात गर्दै रामबाबू विष्ट प्रतिभा पुरस्कारको सुरूवात गरेको छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नं ५ विष्टगाउँ निवासी स्वर्गीय रामबाबू विष्टको नव प्रतिभाहरुलाई प्रोत्साहन गर्ने पवित्र भावनाको सम्मान स्वरूप स्थानीय विद्यालयमा उत्कृष्ट छात्रालाई पुरस्कृत गर्दै सेवाको शुरुवात गरिएको हो ।

कीर्तिपुर नगरपालिकाको भत्केपाटीस्थित बालकुमारी माध्यमिक विद्यालयकी छात्रा भगवती श्रेष्ठलाई २०७९ सालको एसईई परीक्षामा विद्यालयमा छात्रातर्फ सबैभन्दा बढी अंक (जिपीए ३.३५) ल्याई माध्यमिक शिक्षा उत्तीर्ण गरेकोमा पुरस्कार प्रदान गरिएको हो । उनलाई फाउन्डेशनले नगद १० हजार पुरस्कार तथा प्रमाण पत्रद्वारा सम्मान गरेको थियो । उनलाई अरु पनि धेरै संघ संस्था एवम् ब्यक्तिले पनि पुरस्कृत र सम्मान गरेका थिए ।

यही असोज १२ गते एक कार्यक्रम आयोजना गरी विद्यालयले छात्रा श्रेष्ठलगायत कक्षा एकदेखि १० सम्मका प्रतिभाशाली विद्यार्थीहरुलाई पुरस्कृत गरेको थियो । कार्यक्रम आयोजना गर्न र पुरस्कार वितरण ब्यबस्थापन गर्न फाउण्डेशनलाई मनमैंजु साँस्कृतिक समाजका अध्यक्ष तथा वरिष्ठ लोक गायक ध्रुबराज खड्का, कृषि सञ्चार रेडियो प्रसारक तथा गीतकार श्यामकृष्ण रिजाल, बरिष्ठ सञ्चारकर्मी एवम् जिएनएन टेलिभिजनका सम्पादक चन्द्र बानियाँले सहजीकरण गरेका थिए ।

वरिष्ठ सञ्चारकर्मी बानियाँले विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमबाट उज्वल भविष्य भएका बालबालिकामा थप उर्जा प्राप्त हुने र प्रतिश्पर्धात्मक क्षमता विकास हुने भएकाले पुरस्कार र सम्मानको विशेष महत्व हुने बताए ।

कार्यक्रममा वरिष्ठ लोक गायक ध्रुबराज खड्काले स्वर्गीय विष्टको सामाजिक भावना र नव प्रतिभाहरुलाई सधैँ प्रोत्साहित गर्ने आकांक्षा रहेको स्मरण गरे । प्रतिभा पुरस्कार स्वर्गीय विष्टकी धर्म पत्नी लीला विष्टको हातबाट प्रदान गरिएको थियो ।

प्रस्तावित विष्णुशीतल फाउन्डेशन अमेरिका र नेपालका सामाजिक क्षेत्रमा विविध कार्यक्रमहरु लिएर जाने तयारीमा रहेको यसका संरक्षक विष्णु पौडेल शीतलले जानकारी दिए ।