बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

एनआरएनए अध्यक्षका प्रत्यासी आर.के शर्मा भन्छन्- योजनासहित काम गर्ने बाचा लिएर आएको छु

दैनिक नेपाल २०८० असोज १२ गते १३:०९

कतार (दोहा) । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि कतार निवासी राजेन्द्र कुमार शर्मा (आर.के)  शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।

कतारको राजधानी दोहास्थित र्‍याडिसन ब्लू होटलमा आयोजित कार्यक्रममा शर्माले उम्मेदवारी घोषणा गर्दै आफ्नो २४ बुँदे बाचापत्र समेत सार्वजनिक गरेका छन् ।

“गैर आवासीय नेपालीको अभियान: स्वदेशमा लगानी, प्रवासमा सम्मान” भन्ने मूल नारासहित शर्माले २४ महिने कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर बाचापत्र सार्वजनिक गरेका हुन् । संघका वर्तमान उपाध्यक्षसमेत रहेका शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा आफ्ना योजना तथा कार्यक्रमहरू ल्याएको बताए ।

योजना तथा कार्यक्रमले सिंगो गैरआवासीय नेपाली अभियानलाई एकढिक्का बनाएर अघि लैजाने र आफ्नो कार्यकालमा ‘फुटेकोहोइन, जुटेको एनआरएन’ बन्ने उनले दाबी गरे ।

“मैले आइसीसीको उपाध्यक्ष भइ कार्य गरिसकेकाले स्वभावत:अध्यक्ष भई जिम्मेवारी निर्वाह गर्नकालागि अनुभव कमाइ सकेको छु । त्यही अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको छु । तपाईँ हाम्रो सपनालाई साकार पार्ने पवित्र उद्देश्य राखेर गैरआवासीय नेपाली अभियानको नेतृत्व लिने संकल्प गरेकोहुँ,” उनले भने ।

अध्यक्ष पद प्राप्त गर्ने मात्रै आफ्नो अभिलाषा नरहेको भन्दै उनले काम गर्ने उद्देश्यले जिम्मेवारी लिन खोजेको जिकिर गरे । आफूले योजनाबद्ध रुपमा कार्य गर्ने लक्ष्य राखेको उनले बताए । आफूले सार्वजनिक गरेका कार्य र त्यसमा भएका प्रगतिको समीक्षात्मक टिप्पणी त्रैमासिक रुपमा सार्वजनिक गर्ने उनले प्रतिवद्वता व्यक्त गरे ।

शर्माले विदेशमा बस्ने नेपाली श्रमिकहरुलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने र श्रम बेचेर स्वेदश फर्किने नेपाली श्रमिकहरुको भविष्य सुरक्षित गराउन विशेष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । अब गैरआवासीय नेपाली अभियानलाई मानवीय सहयोगमा मात्र सीमित नराखी नेपालको आर्थिक क्रान्तिकालागि एकजुट भएर लाग्नु पर्ने बेला भईसकेको उनले जिकिर गरे ।

शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन् । उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आइसीसी सदस्य, मध्य पूर्व संयोजक र आइसीसी सचिव भएर काम गरिसकेका छन् । हाल उनी संघको आइसीसी उपाध्यक्ष हुन् ।

को हुन् आर.के शर्मा ?

बाग्लुङमा वि.सं. २०३८ साल मंसिर १३ गते मध्यम परिवारमा जन्मिएका शर्मा २० वर्षअघि अर्थात सन् २००३ मा पैसा उठाउन भनेर कतार पुगेका थिए ।

कतारमा पैसा लिनुपर्ने मान्छे नभेटेपछि उनले त्यहीँ नै एउटा निर्माण कम्पनीमा अकाउन्टेन्टको रुपमा जागिर सुरु गरे ।

हाल उनी कतारमा एक सफल नेपाली व्यवसायीकारुपमा चिनिन्छन् ।

प्रतिक्रिया
सम्बन्धित