७ कार्तिक २०८३, शनिबार

सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलन हुँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलन असोज ११ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ ।

सूचनाको हकका लागि राष्ट्रिय महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी असोज ११ गतेदेखि काठमाडौंमा दुई दिने पहिलो राष्ट्रिय सम्मेलन हुने जानकारी दिएको हो ।

सम्मेलनमा ७७ जिल्ला, सबै प्रदेशका जिल्ला अध्यक्ष एवं प्रतिनिधी गरी चार सय जनाको सहभागिता रहने महासङ्घका अध्यक्ष उमिद बागचन्दले जानकारी दिए । पहिलो दिन विभिन्न विषयमा समूह छलफल गरिनेछ ।

‘सूचनामा आम नागरिकको पहुँच वृद्धि गर्न नागरिक समाज संस्था र सञ्चार क्षेत्रको भूमिका’, ‘अल्पसङ्ख्यक युवा, महिला र पिछडिएको वर्गको सूचनामा पहुँचको अवस्था र चुनौती’ तथा ‘सार्वजनिक निकायमा सूचनाको स्वत : प्रकाशनको अभ्यास, सूचना व्यवस्थापन र चुनौती’ गरी तीन विषयमा समूह छलफल गरिने महासंघले जनाएको छ ।

सूचनाको हकको क्षेत्रमा क्रियाशिल अभियानकर्मीहरुलाई हौसला प्रदान गर्ने र सूचनाको हक सम्बन्धी कानूनलाई मजबुद ढंगले प्रयोगका बारेमा पनि सम्मेलनमा छलफल हुने अध्यक्ष बागचन्दले बताए ।

सम्मेलनको दोस्रो दिन रणनीतिक योजना बनाउने र महासंघको नयाँ कार्यसमिति गठन गर्दै केन्द्रीय समितिलाई पूर्णता दिने बताइएको छ । नयाँ कार्य समितिको अवधि दुई वर्षसम्म रहने व्यवस्था महासङ्घको विधानमा छ ।