
हाङझाउ (चीन), १० असोज । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेल आज मंगोलियासँग खेल्दैछ ।
नेपाल र मंगोलियाबीचको खेल नेपाली समयअनुसार अहिले बिहान ६ः४५ मा सुरु हुँदै छ ।
मंगोलिया नेपालसित खेल्दै पुरुष क्रिकेटमा आज डेब्यू गर्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सन् २०२१ मा मात्र मंगोलियालाई एसोसिएट टोलीको मान्यता दिएको हो । समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेल आइतबार माल्दिभ्ससित खेल्नेछ ।
समूह ‘ए’मा शीर्षस्थानमा रहन सके नेपाल क्वाटरफाइनलमा प्रवेश गर्ने छ । क्वाटरफाइनलमा नेपालले भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र अफगानिस्तानमध्ये एउटा टोलीसँग खेल्ने छ ।
पाँचवटै देशले एकदिवसीय विश्वकप प्रतियोगिताका कारण आफ्नो दोस्रो टोली एसियाली खेलकुदमा सहभागिताका लागि पठाएका छन् । प्रतियोगितामा भाग लिन नेपाली पुरुष क्रिकेट टोली आइतबार नै यहाँ आइपुगेको छ ।
नेपाली टोलीका दुई महत्रवपूर्ण खेलाडी सन्दीप लामिछाने र सागर ढकाल आजै यहाँ आइपुगेका छन् । नेपाली टोलीका अन्य खेलाडीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, विवेककुमार यादव, प्रतिश जिसी, सोमपाल कामी, विनोद भण्डारी र सन्दीप जोरा रहेका छन् ।















प्रतिक्रिया