२९ आश्विन २०८३, बिहिबार

सत्तामा पुगेपछि प्रचण्डले सहिदको बलिदान बिर्सिए : केपी ओली

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुंगा, ७ असोज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सहिदको बलिदानबाट सत्तामा पुगेकाहरूले सहिदको सम्मान गर्न नसकेको बताएका छन् ।

ओखलढुंगाको रामपुरमा सहिद गुरु लुइँटेल स्मृति पार्क उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले द्वन्द्वको समयमा मुलुक परिवर्तनका खातिर बलिदान दिने सहिदलाई सत्ता प्राप्तिपछि द्वन्द्वको नेतृत्व गरेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै बिर्सिएको बताएका हुन् । सहिद, बेपत्ता र घाइतेका परिवारको वास्तविक समस्या सरकारले बुझ्न नसकेको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा प्रचण्डको कार्यकर्ता भएर पछिपछि लागेको टिप्पणी समेत गरेका छन् । देशको विकास र जनताको पक्षमा सरकारले काम गर्न नसक्दा पनि कांग्रेस सभापति देउवा प्रचण्डको कार्यकर्ता बन्दा मुलुक र स्वयम् कांग्रेसकै लागि क्षति हुने ओलीको भनाइ थियो ।

सहिद गुरु लुइँटेल २०औँ स्मृति दिवसको अवसर पारेर गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्रको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू सरकारमा हुँदा विकास र समृद्धिका कामहरू चौतर्फी रूपमा भए पनि वर्तमान सरकारले जनतालाई छक्याउने बाहेक केही काम गर्न नसकेको बताए । सरकार आफैं सुन तस्करीमा तल्लीन भएको बताउँदै अध्यक्ष ओलीले वर्तमान सरकारलाई जनताले फाल्न चाहेको पनि बताएका छन् ।

एमालेनिकट शिक्षक संगठन ओखलढुंगाका अध्यक्ष समेत रहेका लुइँटेललाई ०६० भदौ २२ गते विद्यालयबाट घर फर्किने क्रममा तत्कालीन माओवादीले घोराखोरीबाट अपहरण गरी रामपुरमा लगेर बरको रुखमा झुन्ड्याएर मारिएको थियो । सोही स्थानमा सहिद गुरु लुइँटेलका छोरा फणिन्द्र लुइँटेलको अगुवाईमा रामपुरमा सहिद स्मृति पार्क निर्माण गरिएको छ ।