
काठमाडौं, ७ असोज । सभामुख देवराज घिमिरेले शिक्षा विधेयकका सम्बन्धमा विधेयकलाई अगाडि बढाउन सभामुखको भूमिका अनुसार अघि बढ्ने बताएका छन् ।
सात दिने आयरल्यान्ड भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका सभामुख घिमिरेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै विधेयकलाई अगाडि बढाउन सभामुखीय भूमिका निर्वाह गर्ने बताएका हुन् ।
सभामुख घिमिरेले विधेयक सदनमा लैजाने, छलफल गर्ने, सहमति गर्ने, सहमति भएन भने प्रक्रियाबाट टुङ्ग्याउने काम हुने जिकिर गरे । त्यस्तै सभामुख घिमिरेले भ्रमणका क्रममा नेपाली विद्यार्थीहरुका लागि सहज भिसा तथा छात्रवृत्तिको व्यवस्थाबारे छलफल भएको जानकारी दिए ।
नेपाली दक्ष तथा अदक्ष जनशक्तिका लागि रोजागरीको अवसर सिर्जना गर्ने, बेलायतको भिसा भएका नेपालीहरुलाई आयरल्याण्ड भ्रमणमा सहजीकरण गर्ने र आगामी दिनमा नेपालबाटै आयरल्याण्डका लागि भिसाको प्रबन्ध गर्नेबारे पनि छलफल भएको उनले बताए ।
त्यस्तै एक अर्का देशका नागरिकहरुको भ्रमण, नेपालको हिमाल र सगरमाथा हेर्ने र आरोहणका लागि प्रोत्साहनबारे कुरा गरेको उनको भनाइ छ ।
आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणामा भदौ ३१ गते आयरल्यान्ड गएका थिए ।















प्रतिक्रिया