
काठमाडौं, ५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र र राजनीति अहिले बिग्रँदो अवस्थामा अगाडि बढिरहेको र यही अवस्थामा अगाडि बढिरहे नेपाल निर्धारित समयमा अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रको पङ्क्तिमा स्तरोन्नति नहुने सम्भावना रहेको बताएका छन् ।
पार्टीको केन्द्रीय अर्थ तथा योजना विभागद्वारा आज पार्टी कार्यालय, च्यासल, ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले देशको बिग्रँदो अर्थतन्त्र, राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरण भइरहेकोप्रति चिन्ता व्यक्त गरेका हुन् ।
अध्यक्ष ओलीले नेपाललाई सन् २०२६ सम्म अल्पविकसितबाट विकासशील राष्ट्रका रूपमा स्तरोन्नति र सन् २०३० सम्ममा दीगो विकास गन्तव्य हासिल गर्ने दिशामा अगाडि बढाउनुपर्नेमा वर्तमान सरकारको ध्यान अन्यत्र रहेको औँल्याए ।
देश विकास, गरिबी निवारण लगायतका कुरामा सरकारको ध्यानै छैन भने राष्ट्र कसरी अल्पविकसित मुलुकबाट विकासशीलमा स्तरोन्नति होला आशङ्का र चिन्ता व्यक्त गर्दै अध्यक्ष ओलीले सैद्धान्तिक रूपमा मात्र पनि स्तरोन्नति हुँदा दुनियाँमा नेपाल र नेपालीको राष्ट्रिय आत्मविश्वास बढ्ने अध्यक्ष ओलीको भनाइ छ ।
उनले देशको अर्थतन्त्र बिग्रेर सबैभन्दा बढी राजस्व उठ्ने असार लगत्तैको साउन महिनामा सरकारले कर्मचारीलाई तलव खुवाउन आन्तरिक ऋण उठाउने अवस्थामा पुगेको र अर्थतन्त्रलाई सकारात्मक र सही बाटोमा ल्याउने कुरा चिन्ताको विषय भएको पनि बताए ।
वर्तमान सरकारको ध्यान यसतर्फ नभई अपराधीलाई आममाफी दिने, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण गर्नेतिर रहेको ओलीको भनाइ छ ।

राष्ट्रपति रामचन्द्र पौडेल बुढेसकालमा पद पाएकोमा सरकारप्रति कृतज्ञ भएकाले अपराधीको सजाय मिनाहा गर्ने सरकारको निर्णय स्वीकार गरेको बताउँदै अध्यक्ष ओलीले भने, ‘राष्ट्रपति महोदय बुढेसकालमा राष्ट्रपति पाएकोमा कृतज्ञ हुनुहुन्छ । सरकारले जे लग्यो, त्यो बडो खुसीका साथ स्वीकार्नु हुन्छ ।’
उनले सरकारको ध्यान शान्ति प्रक्रियालाई टुङ्ग्याउने भन्दा पनि हिंसालाई उत्सवको रूपमा मनाउनेतिर रहेको बताए ।
शान्ति प्रक्रिया टुङ्ग्याउने विषय र हिंसा शुरू गरेको दिन (फागुन १ गते) राष्ट्रिय उत्सव मनाई उन्माद सिर्जना गर्ने कुराबीच तालमेल नहुने भन्दै अध्यक्ष ओलीले प्रश्न गरे, ‘हिंसा पीडितमाथि अन्याय र अपमानले घोँचेर शान्ति प्रक्रिया टुङ्गो लाग्छ ?’
फागुन १ गते जनयुद्ध सुरू गरेको दिनलाई उत्सवका रूपमा मनाउने काम नगर्न प्रधानमन्त्री ‘प्रचण्ड’लाई आफूले सुझाव दिए पनि अर्कोतिर साँठगाँठ भइसकेकाले आफ्नो सुझावप्रति उनले ध्यान नदिएको अध्यक्ष ओलीले स्पष्ट गरे । ‘शेरबहादुरजीसँग कुरा भइसकेको रहेछ र प्रधानन्त्री प्रचण्ड हिंसा सुरू गरेको दिनलाई राष्ट्रिय उत्सवका रूपमा मनाउने अठोटमा पुगिसक्नुभएको रहेछ,’ ओलीले भने ।













प्रतिक्रिया