
काठमाडौं, ५ असोज । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं काठमाडौं इन्चार्ज आनन्द पोखरेलले सत्ता गठबन्धन सरकारले समयमानै शिक्षकको माग सम्बोधन नगर्दा शिक्षक सडक आन्दोलनमा उत्रन बाध्य भएको बताएका छन् ।
उनले सरकारले शिक्षकको स्वाभिमानमा र अधिकारलाई कुण्ठीत हुने गरी विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा दर्ता गरेपछि त्यसमा रहेका प्रावधानप्रति असन्तुष्टि जनाउँदै लाखौँ शिक्षकहरु तीन दिन देखि सडक आन्दोलनमा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार एमाले काठमाडौंको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै नेता पोखरेलले सरकारले शिक्षकको माग सम्बोधन नगर्दा शिक्षाको ज्योती लोकतान्त्रिक आन्देलनका सहकर्मीहरुलाई सडकमा उत्रन बाध्य बनाएको बताएका हुन् । उनले शिक्षकहरु आफ्नो मागसहित सडक आन्दोलनमा उत्रनु सरकारको असफलता भएको टिप्पणी गरे ।
‘उनीहरुका जायज माग पूरा गर्न सार्थक वार्ताको माग गर्दछु । म शिक्षक लगायत सबै पेशाकर्मीको जायज माग पूरा गर्न सरकारसँग पुन अपिल गर्दछु । हामी सबैले ख्याल राख्नु पर्ने विषय भनेको विद्यार्थीको पढाई र उनीहरुको शैक्षिक भविष्यको पनि हो । पेशाकर्मीहरुको जिम्मेवारी गुणस्तर सेवा प्रदान गर्नु पनि हो । यी विषयलाई पनि प्रबुद्ध शिक्षकहरुले भुल्नु हुँदैन ।’ पोखरेलले भने ।
गत बुधबादेखि शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरु विद्यालय बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलनमा रहेका छन् ।
सरकार र आन्दोलनरत शिक्षक महासंघबीच वार्ता पनि भएको छ तर कुनै सहमति बन्न सकेको छैन् । आन्दोलनरत शिक्षकहरुसँग सरकारले बिहीबार दुई पटक वार्ता गरे पनि सहमति हुन सकेको छैन् । आज पनि सरकार र आन्दोलनरत शिक्षक महासंघबीच वार्ता हुँदैछ ।











प्रतिक्रिया