मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

निष्काम कर्मयोगका प्रतीक स्व. खड्गबहादुर अर्याल

नरेश अर्याल २०८० असोज ५ गते ०:२९

स्वर्गीय खड्गबहादुर अर्याल

हाम्रो परिवारको दीप सबैको प्रिय प्रात: स्मरणीय हाम्रा बुबा/हजुरबुबा स्व. पिता बलबहादुर अर्याल र स्व.ममतामयी माता तुलसा अर्यालको कोखबाट जन्मनुभएका माइला सुपुत्र स्व. खड्गबहादुर अर्यालको यही भदौ २४ गतेका दिन ८६ वर्षको उमेरमा भएको असामयिक निधनले एक असल अभिभावक गुमाउनु पर्दा हामी सम्पूर्ण परिवार मर्माहित भएका छौँ ।

उँहाको असामयिक स्वर्गारोहण भएको १३औँ दिनको पुण्यतिथिमा स्नेहमय हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत पुण्य आत्माको चिरशान्तिका लागि श्री परमेश्वरसँग प्रार्थना गर्दछौँ । साथै यस दु:खद घडीमा हामीप्रति सहानुभूति तथा समवेदना प्रकट गर्नुहुने सम्पूर्ण मान्यजन, ईष्टमित्र, आफन्तजन एवम् संघसंस्थाप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।

जन्म तथा बाल्यकाल

स्व. खड्गबहादुर अर्याल हालको मालिका गाँउपालिका ६ अर्जै मुख्य टोला निवासी स्व. पिता बलबहादुर अर्याल र स्व. ममतामयी माता तुलसा अर्यालको पवित्र कोखबाट बि.स. १९९५ साल जेठ २६ गते यस धर्तीमा अवतरण हुनुभयो । उहाँ परिवारको माइलो छोरा हुनुहुन्थ्यो । मध्यमस्तरीय परिवारमा जन्मेको हुनाले खान लाउन त्यति दु:ख थिएन । शुक्लपक्षको चन्द्रमा जस्तै क्रमश: वृद्धि र विकास हुँदै गइरहेको अवस्थामा एकाएक दैवो कुदृष्टि पर्‍यो । सात वर्षको उमेर पूरा हुन नपाउँदै पिताको माया ममता र स्नेहबाट टाढा हुनुभयो, अर्थात् टुहुरो बन्न पर्‍यो । ममतामयी माता तुलसाले उहाँलाई बुबाको अभाव महसुस हुन दिनुभएन । अत्यन्त ममताका साथ आमाको बात्सल्यमय काखमा हुर्किरहेको बेला गाउँमा विफर रोगको महामारी फैलियो ।

त्यसबेला बि.स. २०११/१२ तिर बिफरको खोपको व्यबस्था थिएन । यस रोगले गाउँमा धेरै मान्छे स्वर्गे भए । उहाँकै भाइ कान्छा समेतलाई बिफरले लग्यो । उहाँ पनि बिफरबाट सख्त बिरामी पर्नुभयो । करिब–करिब मृत्युको नजिक पुगेर उहाँ फर्किनुभयो । उहाँको अनुहारमा बिफरका डोभहरू मृत्युपर्यन्त देख्न सकिन्थ्यो । बिफर रोगबाट मुक्त भएपछि उहाँ स्वस्थ्य र सबल बन्दै हुर्किनुभयो ।

जेठो दाजु थम्मन बहादुर, आफू र आमा तीन जनाको परिवारले कृषि र पशुपालन व्यवसाय सञ्चालन गर्दै समाजमा अगाडि बढ्नुभयो । भनिन्छ परिवार बालकको पहिलो पाठशाला हो र आमा बालककी पहिलो शिक्षिका हुन् । आमाबाटै नैतिक आचरण, आत्मानुशासन, माया ममता असल आनीबानी र सेवा भाषाको शिक्षा प्राप्त गर्नुभयो ।

नरेश अर्याल

अर्यालहरूको पुरानो बस्ती थियो अर्जै । सम्भवत: यो अर्यालहरूको उत्पत्ति भएको क्षेत्र नै अर्जै थियो । अर्जै पोखरावारीका अर्यालहरू नै पछि गएर मरभूङ, अर्खवाङ, ह्वाङदी, मौरीभीर, दर्लिङ, आपचौर हुँदै देशभरि फैलिन पुगेका हुन् । अर्जैको पोखराबारीमा रहेका अर्यालहरूलाई मुख्य खलक पनि भन्ने गरिन्छ । धेरै लामो समयसम्म यिनै अर्यालहरूले त्यस क्षेत्रमा तालुकदारी, भट्ट सेवा गरेका थिए । अर्यालहरूको यहि महत्वलाई बुझेर पृथ्वीनारायण शाहले गोरखामै शासन गर्दा ‘६ थर घर’को व्यवस्था मिलाएका थिए । यिनै ६ थरभित्र अर्याल पनि समावेश थिए अर्थात् ६ थर घरभित्र अर्याल, थापा, पाण्डे, पन्त, खनाल, बस्नेत रहेका थिए ।

पछि रानाहरूलाई पनि समावेश गरिएको इतिहासले पुष्टि गर्छ । स्व. खड्गबहादुर अर्याल यिनै मुख्य खलकका सन्तान हुनुहुन्छ । सबैको स्नेहमा उहाँ त्यहि समाजमा हुर्की, बढी सामान्य पढाई समेत गाउँघरमै पढ्नुभयो । उहाँलाई नेपाली सेना र तत्कालीन ब्रिटिस अर्थात् भारतीय सेनामा भर्ती हुने ईच्छा भएन अर्थात् अवसर पाउनुभएन । उहाँले बाल्यकालदेखि नै ईस्मा क्षेत्र अन्तरगत अर्जै, अम्मरपुर, छाप, अर्खवाङ्ग तथा दर्लिङ्ग क्षेत्रको विकास तथा समाजसेवामा आफ्नो अग्रसरता बढाउँदै लैजानुभयो ।

शिक्षा

त्यसबेला गाउँमा विद्यालयको नाम निसाना नै थिएन । गुरुकुल शिक्षा पद्धति जस्तो टोलमा एकजना पढे लेखेको मान्छे बोलाएर गाउँका केटाहरू जम्मा गरि पढाउने प्रचलन थियो रे । चौर/टोलमा १ जना धुर्कोटबाट पण्डित बोलाएर सामान्य साँवा अक्षर र अंकसम्बन्धी ज्ञान दिने व्यवस्था रहेछ । त्यही ठाउँमा गइ केही महिना उहाँले पढ्नुभएको थियो रे । उहाँमा चिठ्ठी तमसुक लेख्ने र रामायण महाभारत जस्ता पुस्तक पढ्न सक्ने क्षमता विद्यमान थियो ।

वैवाहिक जिवन तथा पारिवारीक सम्बन्ध

हालको इस्मा गाउँपालिका इस्मा रजस्थल वडाको सिरार बस्ने चन्द्रबहादुर घर्तीकी छोरी नन्दकला जीसीसँग हाम्रै फुपाजु भीमबहादुर बस्नेतले मागीबिबाह गरिदिनुभएको थियो । बि.सं. २०२० सालमा उहाँलाई पुत्रलाभ भयो । एउटै मात्र छोरा यमबहादुर अर्याल जन्मेपछि अन्य कुनै सन्तानको चाहनाले हो वा अरु कुनै कारणले हो उहाँले दोस्रो विवाह पनि गर्नुभयो तर एक वर्ष पनि घरमा नबसी दोस्री दुलही पोइला जानुभयो ।

स्व. खड्गबहादुर अर्यालले आफ्नो सामाजिक, राजनीतिक यात्रालाई अगाडि बढाउने क्रममा ईस्मा पौदी क्षेत्रतर्फ सामाजिक तथा राजनीतिक सेवामा संलग्न एक असल सामाजिक, राजनीतिक तथा विकासवादी स्व. रविलाल थापासँग सम्बन्ध विस्तार गर्दै लैजानुभयो । स्व. रविलाल थापाले ईस्मा क्षेत्रमा अर्यालहरूको महिमा, गरिमा र प्रभाव राम्ररी बुझ्नु भएको थियो । स्व. खड्गबहादुरको नेतृत्व, उहाँको शासनकला, नेतृत्वकला र उहाँको अन्य सबै भूमिकाबाट प्रभावित स्व. रविलाल थापाले त्यो क्षेत्रमा आफ्नो दरिलो सम्बन्ध कायम गराउन चाहानुहुन्थ्यो । त्यसै क्रममा स्व. रविलाल थापाले आफ्नी कान्छी छोरी विष्णु (सेनी) को विवाह स्व. खड्गबहादुरका एकमात्र छोरा यमबहादुर अर्यालसँग गराउन चाहान्थे ।

एक पटकको राजनीतिक भेटघाटको क्रममा स्व. रविलाल थापाले आफ्नो मन भित्रको वर्षौ अघिदेखिको ईच्छा स्व. खड्गबहादुरको छोरा यमबहादुर र आफ्नी छोरी विष्णुको विवाह गर्ने प्रस्ताव प्रकट गर्नुभयो र उक्त प्रस्तावलाई स्व. खड्ग बहादुरले सहजै स्वीकार गर्नु भयो । वि.सं. २०३७ साल मंसिर २५ गते अर्जैका अर्याल र पौदीका थापाबीच मैत्रीपूर्ण वैवाहिक सम्बन्ध सम्पन्न भयो । यमबहादुर र विष्णुको विवाह त्यस बेला त्यस भेगकै नमूनालायक भव्य विवाह दोहोरो पञ्चेबाजा, दर्जनौँ बन्दुकको आवाज, दर्जनौँ घोडा तथा सयौँ जन्तीको उपस्थितिमा रात्रीकालीन विवाह सम्पन्न भएको थियो ।

स्व. रविलाल र स्व. खड्गबहादुर सम्धीको नातामा परिणत भएपछि ईस्मा क्षेत्र र पौदी क्षेत्रबीच सुमधुर सम्बन्ध हुन पुग्यो । यो सम्बन्ध स्थापना गर्दा जिल्ला पञ्चायत सदस्यका कार्यवाहक सभापति भएका स्व. रविलाल उपप्रधानपञ्च र प्रधानपञ्च भएका स्व. खड्गबहादुर दुबैको सामाजिक र राजनीतिक हैसियतमा पनि वृद्धि भयो । स्व. खड्गबहादुरको सहयोगले स्व. रविलाल थापा २/२ पटकसम्म जिल्ला पञ्चायत सभापतिमा निर्वाचित हुन ठूलो सहयोग प्राप्त भयो । किनकी स्व. खड्गबहादुरको गुल्मीको ईस्मा क्षेत्र तथा पश्चिमी क्षेत्रमा राम्रो प्रभाव थियो ।

परिवारमा मात्र नभई समग्र जिल्लावासीमा सदैब सुखी र खुसीका साथ जीवनयापन गर्नुपर्छ भन्ने मान्यता राख्ने उहाँले एकमात्र बुहारी स्व. विष्णुकला अर्याललाई उनी मेरी बुहारी नभई छोरी हुन भनी अति नै माया गर्ने हुनुहुन्थ्यो । विवशता भनौँ वा दैबको खेल उहाँको आफ्नो धर्मपत्नी श्रीमती नन्दकलाको मिति २०७१ वैशाख ६ गते र बुहारी विष्णुकलाको २०७७ चैत्र २१ गते देबसाहन भएको थियो । यामबहादुर अर्याल र स्व. विष्णुकला अर्यालको कोखबाट २ छोरा (नरेश अर्याल र जीवन अर्याल) र २ छोरी (सकीक्षा र सिर्जाना अर्याल) को जन्म भयो ।

सामाजिक सेवा

खै कुन प्रेरणाको स्रोतले हो उहाँ १६ वर्षको कलिलो उमेर देखिनै सामाजिक सेवामा निष्काम कर्म योगको भावले खटिरहनु भयो । उहाँका अभिन्न मित्र चन्द्रकान्त अर्यालसँगै अर्जैको विकास र श्रीवृद्धिका लागि रात दिन खटिरहनु भयो । वि.स. १०१३ सालमा श्री चन्द्र प्राविका संस्थापक सदस्य रही अर्जैमा शिक्षाको दीप प्रज्वलन गर्नुभयो । त्यतिबेला अर्जै, अमरपुर र घमिर एउटा गाउँ पञ्चायत थियो । उहाँ वडा सदस्य बनेर काम गर्नुभयो ।

स्थानीय संस्था बदलिँदा अर्जै अमरपुर एउटा गाउँ पञ्चायत र घमिर छुट्टै बन्यो । अर्जै अमरपुर एउटा गाउँ पञ्चायत बन्दा ओम प्रसाद गौतम प्रधान पञ्च र उहाँ (खड्गबहादुर) उप प्रधान पञ्च भइ गाउँले जनताको सेवामा दत्त चित्त लगाएर खट्नु भयो । उतिबेला गाउँमा सबै मानिस कृषि पेशा र पशुपालन मात्र गर्थे । शिक्षाको अभाव थियो । गाउँमा जग्गाको साँध सिमानामा अत्यन्तै झगडा भइरहन्थ्यो । ती झगडा मिलाउन धेरै समय खर्च गर्नुपर्थ्यो । वि.स. १०२४ सालतिर अर्जैमा वीरेन्द्र हाइस्कुल नाम राखेर माध्यमिक विद्यालय स्व. चन्द्रकान्त अर्याल र उहाँको नेतृत्वमा स्थापना गर्ने कार्य भयो । स्थानीय जनतामा चेतनाको अभाव तथा आर्थिक स्रोत गाउँबाट जुटाउन कठिन भएको कारण चार/पाँच वर्ष सञ्चालनपछि स्थगित गर्न विवश हुनुपर्‍यो । त्यसबेला शिक्षकलाई तलब खुवाउन नसक्दा शिक्षकले घर घेरा हाली आफू घर छोडी कयौँ रात काउने भेडीखोरको जंगलमा बिताएको कुरा बेलाबखत सुनाउनुहुन्थ्यो ।

गाउँमा स्थापना भएका भवानी खड्गको मन्दिर, कालिकाको मन्दिर, देवी भगवतीको मन्दिरमा बर्खे दशैं, चैते दशैंमा दिइने बलिको लागि कोष थिएन, जनताबाट मोहर रूपैयाँ उठाएर बलिको व्यबस्था गर्न खट्नुपर्थ्यो । पछि अर्जैमा रहेको खड्ग भवानी मन्दिरमा खड्ग भवानी स्थायी कोष स्थापना गरी दशैँ सञ्चालन गर्ने कार्य गर्नुभयो । पछि अर्जै र अमरपुर दुई गा.वि.स.मा विभाजित भए । वि.स. २०३६ सालको जनमत संग्रह पछिको निर्वाचनमा अर्जै गाउँ पञ्चायत प्रधानपञ्च बन्नुभयो । उहाँकै कार्यकालमा पुन: अर्जै मावि स्थापना गर्न चन्द्रकान्त अर्याल, खड्गबहादुर अर्याल र तुलसीराम अर्यालले नेतृत्व गर्नुभयो ।

त्यो बेला राज्यबाट विकास निर्माणका लागि गाउँमा पैसा कम आउँथ्यो । जिल्ला पञ्चायतबाट करिब २० हजार रूपैयाँ भवन बनाउन प्राप्त भएको थियो । पञ्चायत कालको सुनौला पक्ष जनश्रमदान थियो । गाउँका मानिसलाई जनश्रमदानमा संलग्न गराएर ७२ हात लामो विद्यालय बनाउने कार्य भयो । उक्त विद्यालय वि.स. २०४२ सालतिर स्वीकृत भयो । वि.स. २०४१ सालतिर अर्जैमा जग्गाको नाप नक्सा गर्ने कार्य भयो । त्यसबेला गाउँमा जग्गाको जग्गा कर लिने र रसिद दिने काम गाउँका मुखियाको हुन्थ्यो । उक्त नापी कार्यमा जनताका जग्गाहरू नाप्ने कार्यमा उल्लेख्य योगदान रह्यो । नहली अर्जै खानेपानी सम्पन्न गर्न, गाउँका सामुदायिक बनको संरक्षण गर्न, गाउँमा हुने झैझगडाको मेलमिलाप गराउने कार्य आदिमा उहाँको सदैव उल्लेख्य भूमिका रह्यो ।

उहाँले आफ्नो सामाजिक तथा राजनीतिक यात्रालाई अगाडि बढाउने क्रममा स्व. चन्द्राकान्त अर्याल, स्व. चम्फबहादुर अर्याल, स्व. रामबहादुर गौतम, स्व. जगत प्रसाद पाण्डे, स्व. ओम प्रसाद गौतम, स्व. हरिलाल ज्ञवाली, स्व. ज्योतिष चन्द्रकान्त अर्याल जैसी, स्व. भक्तिराम पराजुलीसँगको मित्रतालाई सदैव सम्झिने गर्नुहुन्थ्यो ।

कुलपूजा व्यवस्थापन

अर्जै मुख्य टोलमा रहेका दाजुभाई र एक्ले आँपका दाजुभाइमध्ये धेरै दाजुभाइहरू कुल पूजाका लागि मालिका ३ ह्वाङ्दीको महभीरमा जाने प्रचलन थियो । देवाली वर्ष पालेका बोकाहरू डोर्‍याएर महभीर पुर्‍याउन र काटेपछि ती बोकाहरू बोकेर ल्याउने कार्य अत्यन्तै कठिन थियो । उक्त कठिनाइलाई हृदयङ्गम गरि अर्जैमा रहेका सबै विदुखोले अर्याललाई एकताबद्ध गरि कुलको मन्दिर अर्जैमा स्थापना गर्ने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।

वाम राजनीतिमा संलग्नता

वि.स. २०४६ को अन्दोलनपूर्व उहाँ पञ्चायती व्यवस्थाका कट्टर पक्षपाति हुनुहुन्थ्यो । २०४२/४३ को स्थानीय निर्वाचनमा भूमिगत बहुदलवादीहरूले पञ्चहरूलाई गरम पञ्च र नरम पञ्च विभाजन गरि पञ्चायत व्यवस्थामा हस्तक्षेप गरे । गरम पञ्च हटाऊ र नरम पञ्च जिताउ भन्ने अभियानमा उहाँ गरम पञ्चमा पर्नुभयो । पञ्च र भूमिगत बहुदलवादीले नरम पञ्चलाइ जिताए ।

वि.स. २०४६ सालको राजनीतिक आन्दोलनले देशमा बहुदलीय शासन व्यवस्था स्थापना भयो । तत्पश्चात उहाँ नेकपा एमालेमा संलग्न भई राजनीतिक जिम्मेवारी लिनुभयो । पुरानो राजनीतिक अनुभव जनातासँगको प्रत्यक्ष संलग्नताले अर्जैको भूमिमा कम्युनिष्ट आन्दोलन झांगियो ।

वि.सं. २०५४ सालको निर्वाचनमा उहाँले अब युवा पुस्ता राजनीतिमा अगाडि सर्नुपर्छ भनी गा.बि.स. अध्यक्षमा लिलबहादुर अधिकारी र उपाध्यक्षमा लिलबहादुर बिष्टलाई उम्मेदवार बनाएर आफू अगाडि बढ्नुभयो । उक्त निर्वाचनमा नेकपा एमालेले विजय प्राप्त गरेपछि वि.स. २०७९ सालको स्थानीय निर्वाचनपूर्वसम्म अर्जै सबै चुनाबमा एमाले प्रथम बन्न सफल भयो । उहाँ अर्जै गा.वि.स.को नेकपा एमालेको अध्यक्ष पनि बन्नु भयो ।

पछि उहाँ सल्लाहकार समितिको संयोजक भएर रहनुभयो । उहाँको वरद नेत्तृत्वमा अर्जैका एमाले कार्यकर्ताहरूले सितल छहारी प्राप्त गरे ।

बदलिदो राजनीतिक व्यवस्था सँगसँगै हरेक सामाजिक, राजनीतिक तथा विकास निर्माणका कार्यहरूमा सदैव नि:स्वार्थ रूपले काम गर्दै आइरहनुभयो । तत्कालीन माओवादीको आन्दोलनको समयमा समेत उहाँ निरन्तर रूपमा सामाजिक तथा राजनीतिक कार्यमा क्रियाशील नै हुनुभयो । सोही समयमा समाजलाई कुभलो चाहाने समाजको सामाजिक विकास विरोधीहरूले उहाँविरुद्ध उक्त पार्टीमा २१ वटा मुद्दा दिएका थिए ।

तत्कालीन माओवादी पार्टीका पनि व्यक्तिगत रूपमा प्रतिशोध राख्ने केही कार्यकर्ताहरूले उहाँलाई विभिन्न किसिमका डर, धम्की दिई अपहरण गर्दा समेत उहाँ निडर रूपले सामाजिक कार्यमा लागि नै रहनुभयो । उहाँले गरेका सम्पूर्ण राजनीतिक, सामाजिक तथा विकास निर्माणका कामहरूमा कुनै पनि कमीकमजोरीहरू देखाउन नसकेपछि उहाँलाई पार्टीबाट सम्मानजनक रूपमा रिहाई गरेका थिए ।

सामाजिक अभियन्ता

मानवताको पक्षमा बहस पैरवी गर्ने, अन्याय अत्याचारको विरोध गर्ने, समाजमा रहेका रूढिवादी अन्धविश्वासहरूलाई हटाउन क्रियाशील रहने व्यक्तिलाई सामाजिक अभियन्ता भनिन्छ । उहाँ एक सामाजिक अभियन्ता हुनुहुन्थ्यो । हाम्रो समाजमा मानिस मरेपछि मलाम गएका सबै व्यक्तिहरूलाई तेर्हौँ दिनको दिन लिफामा पैसा राखेर दिने प्रचलन थियो । यसले मृतकको परिवारमा आर्थिक भार थपिदिन्थ्यो । मलाम जानु सहयोग हो यसमा पैसा वितरण गर्नु राम्रो होइन भनी यो प्रचलन रोक्नुभयो । त्यस्तै, छैँटी (बच्चा जन्मेको छैटौँ दिन) कर्ममा पनि भजन/कीर्तनको रमिता हेर्न आउनेहरूलाई पनि पैसा बाड्ने प्रचलनलाई पनि रोक्नु भयो ।

अर्जै पोखराबारीमा दशैंको पूर्णिमामा लाग्ने मेला पूर्णिमाको राति लाग्ने गर्थ्यो । रातमा मेला लाग्दा हुल हुने, चेलीबेटीका गहना लुटिने आदि हुन्थ्यो । त्यो गतिविधि रोक्न पूर्णिमाको मेलालाई दिनमा लाग्ने बनाउन अहम् भूमिका निर्वाह गर्नुभयो । हाम्रो समाजमा छोरा र छोरीबीचको विभेद अझै पनि केही रूपमा देख्न पाइन्छ गाउँमा छोरा जन्मे छैँटी गर्ने, उत्सव तथा रमाइलो गर्ने चलन छ तर उहाँले आफूलाई नातिनी सिर्जना र समीक्षा जन्मेको बेला छैटी कर्म गरी उत्सव मनाउनुभएको थियो र नारी पुरूष समान हुन् भन्ने सन्देश प्रवाह गर्नुभएको थियो ।

उहाँ शारीरिक रूपमा बलियो र हट्टाकट्टा हुनुहुन्थ्यो । गाउँमा कसैले घर बनाउन लाग्दा दलिन बोक्ने काममा उहाँ सदैव सरिक हुनुहुन्थ्यो । उहाँको वैँशको बेला गाउँमा बनेका घरमा उहाँले दलिन नबोकेका घर छैनन् होला । उहाँ अत्यन्त सहयोगी, उदार, प्रष्ट वक्ता, छिटो निर्णय लिन सक्ने क्षमता भएका, दुर दृष्टि भएका, संयमी, सन्तोषी र हकि स्वभाव भएका व्यक्ति हुनुहुन्थ्यो । उहाँ आफ्ना सन्तान प्रति हुरुक्क हुनुहुन्थ्यो । आफ्नो पारिवारिक अभिभारा अत्यन्तै जिम्मेवार बनेर निर्वाह गर्नु भयो । अनौठो र आश्चर्य लाग्ने कुरा के छ भने, जीवनपर्यन्त गीताले निर्देशन गरेको कुरा जस्तो: काम गर्नु तिम्रो अधिकार हो फलको आशा नराख भन्ने भनाइलाई आत्मसाथ गरेर निष्काम कर्मयोगको भावले समाजलाई दिएको योगदान सदा सदाको लागि स्मरणीय छ । यस्ता महापुरुषको जन्म कहिलेकाहीँ मात्र हुन्छ । उहाँको महाप्रस्थानले हाम्रो समाजलाई अपुरणीय क्षति भएको छ ।

हार्दिक श्रद्धा सुमन, अल बिदा !!!

प्रतिक्रिया
सम्बन्धित