
काठमाडौं, ४ असोज । नेकपा एमालेले आन्दोलनरत शिक्षकका जायज र न्यायोचित माग सम्बोधन गरी आन्दोलन अन्त्य र विद्यालय खोली पठनपाठन सुचारु गर्ने वातावरण बनाउन सरकारलाई ध्यानाकर्षण गराएको छ ।
नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौला नेतृत्वको टोलीले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई भेटी आन्दोलनरत शिक्षकको छाता संगठनसँग वार्ता गरी उनीहरूका जायज मागको उचित सम्बोधन गर्न ध्यानाकर्षण गराएको हो ।
भेटमा शिक्षामन्त्री राईसँग आन्दोलनरत शिक्षकका संगठनसँग तत्काल वार्ता गर्न, उनीहरूले उठाएका पेशागत हकहितलगायत जायज माग सम्बोधन गर्न, विद्यालयको पठनपाठन सुचारु गर्न र शिक्षण पेशालाई मर्यादित बनाउने गरी कदम चाल्न आग्रह गरिएको सचेतक बर्तौलाले बताए ।
शिक्षामन्त्री राईलाई आन्दोलनरत शिक्षकहरूका विषयका साथै आन्दोलनका कारण लाखौं विद्यार्थीको पठनपाठन अवरुद्ध भएको विषयमा ध्यानाकर्षण गराउन गएको सचेतक बर्तौला नेतृत्वको टोलीमा संसदको शिक्षा समितिमा रहनुभएका एमालेका सांसदहरू पनि थिए ।
शिक्षासम्बन्धी संसदमा प्रस्तुत भएको विधेयक शिक्षकहरूको पेशागत हकहित र अधिकारविरुद्ध रहेको भन्दै देशभर विद्यालय बन्द गरी शिक्षकहरूले राजधानीमा सडक प्रदर्शन गरिरहेका छन् ।













प्रतिक्रिया