
झापा, ४ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले कारबाही गर्ने चेतावनी दिएकोप्रति आपत्ति जनाएका छन् ।
आज बिहीबार राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीले झापाको दमकमा आयोजना गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ विषयक नगरस्तरीय अन्तरमावि तह वक्तृत्वकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो अधिकार खोज्न हिँडेका शिक्षकहरूलाई स्थानीय तहहरूले धम्क्याउन र थर्काउन नमल्निे बताएका हुन् । ‘शिक्षकहरू आन्दोलनमा छन्, स्थानीय तहहरू धम्क्याइरहेका छन्, सरकार भन्ने बित्तिकै धम्क्याइ हाल्नुपर्छ र ?’ अध्यक्ष ओलीले भने ।
यस्तै, अध्यक्ष ओलीले आन्दोलनरत शिक्षकका मागलाई सरकारले उचित सम्बोधन गर्नुपर्ने बताएका छन् । ‘गुरुहरूलाई धम्क्याउने होइन, गुरुहरू यत्तिकै देशभरिबाट आएर त्यहाँ सडकमा आन्दोलन गरिरहेका होइनन्, आवाज उठाइरहेका होइनन्, गुरुहरूका समस्या सुन्नुपर्छ, ती समस्यालाई सम्बोधन गर्नुपर्छ, ती समस्याहरू समाधान दिनुपर्छ, कति अहिले दिने, कति पछि दिने ? गुरुहरू नबुझ्ने मान्छे हुँदैनन्, पढेलेखेका मान्छे हुन्छन्, बुझ्छन्, बसेर छलफल गर्नुपर्छ, माग सम्बोधन गरिनु पर्छ,’ अध्यक्ष ओलीले भने ।
कुनै पनि सरकारले धम्कीको भाषा बोल्न नमिल्ने ओलीले बताए । एउटा मान्छेले गरेको कमजोरी रोक्न नसक्ने सरकारले देशभरिका गुरुहरूलाई जागिरबाट निकाल्ने धम्की दिनु गैरजिम्मेवार कुरा भएको ओलीको टिप्पणी छ । शिक्षण संस्था बन्द गराउन एकजना मानिस अनसन बस्दा उसका माग सम्बोधन गर्नुपर्यो भनेर कोकोहोलो गर्नेहरू अहिले देशभरिका शिक्षक आन्दोलनमा उत्रिँदा पनि मौन बसेको भन्दै उनले आलोचना गरे ।
शिक्षकका मागप्रति ध्यान दिएर यथोचित सम्बोधन गरी आन्दोलन धेरै लम्ब्याउन नदिन नहुने ओलीको भनाइ छ । शिक्षकको आन्दोलन लम्बिनु कसैको हितमा नभएको ओलीले टिप्पणी गरे ।













प्रतिक्रिया