
काठमाडौं, ४ असोज । नेकपा एमालेले पार्टी र पार्टीको नेतृत्व गरिरहेका केपी शर्मा ओलीको नाम र तस्वीर राखेर सञ्चालन भइरहेका फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।
पार्टीका तर्फबाट पार्टीको प्रचार तथा प्रकाशन विभागले आज विज्ञप्ति जारी गर्दै पार्टीको नाम, लोगो र झण्डा प्रयोग गरेर फेसबुकलगायत सामाजिक सञ्जाल सञ्चालन गरिरहेकाहरूलाई पार्टीको सम्पर्क आउन अनुरोध गरेको हो ।
‘सामाजिक सञ्जालको दुरुपयोग गरी अनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेको छ । यसले पार्टीपङ्ति र जनसमुदायमा भ्रम सृजना हुने गरेको छ । तसर्थ, सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउण्ट बन्द गर्नुपर्ने चौतर्फी दबाब आएकाले सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
एमाले र पार्टी नेतृत्वका नाममा अनधिकृत रूपमा फेक आईडी प्रयोग गरी सामाजिक सञ्जालमार्फत् भ्रमपूर्ण समाचार सम्प्रेषण गरी आम नागरिक र पार्टीपङ्तिभित्र अफवाह फैलाइएको पाइएकाले त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको विभाग प्रमुख राजेन्द्र गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
पार्टीका नाम, लोगो, झण्डा र पार्टी नेताहरूको नाम जोडेर सञ्चालन भएका सबै एकाउण्ट सञ्चालकहरूलाई १५ दिनभित्र पार्टीको केन्द्रीय प्रचार विभागको सम्पर्कमा आउन अनुरोध गरिएको छ । अन्यथा, यस्ता फेक एकाउण्ट सञ्चालकहरूका बारेमा आवश्यक कानुनी प्रक्रियामा जान पार्टी बाध्य हुने चेतावनी एमालेले जनाएको छ ।













प्रतिक्रिया